×

फाइल तस्बिर ।

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार (भोलि) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । सत्ता साझेदारीमा रहेका नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रचण्डको सरकार अल्पमतमा परेको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठनको सहमति भएपछि प्रचण्डको सरकार सङ्कटमा परेको हो । असार १७ गते राति काँग्रेस–एमालेबिच सरकार सञ्चालनको सहमति भएको थियो र असार १९ गते एमालेले समर्थन फिर्ता लिएको थियो । एमाले संसद्को दोस्रो ठूलो दल हो भने काँग्रेस पहिलो दल हो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने सम्भावना छ । नेपाली काँग्रेस र नेकपा एमालेले प्रचण्डविरुद्ध मतदान गर्ने निर्णय गरेका छन् । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा उपस्थित भएर प्रचण्डविरुद्ध मतदान गर्न ह्विप जारी गरेका छन् । यस्तै, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

जनमत पार्टीले पनि प्रचण्डलाई मत नदिने निर्णय गरेको छ । काँग्रेस–एमालेको सहयोग पाएको जनमतले केन्द्रमा पनि सोही गठबन्धनलाई समर्थन गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टीले पनि प्रचण्डलाई मत नदिने निर्णय गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रचण्डलाई मत दिन तयार छैन । नागरिक उन्मुक्ति पार्टीका तीन सांसदले प्रचण्डलाई समर्थन नगर्ने निर्णय गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रचण्डलाई मत नदिने तयारी गरिरहेको छ । यसका लागि पार्टी संसदीय दलको बैठक बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वासको मत दिने तयारी गरेको छ । रास्वपाको बैठक शुक्रवार बिहान ९ बजे बोलाइएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि प्रचण्डको पक्षमा उभिने तयारीमा छ । समाजवादीको बैठक अहिले चलिरहेको छ । उपेन्द्र यादवको जनता समाजवादी पार्टीले पनि प्रचण्डको पक्षमा उभिने सम्भावना छ ।

साना दल र स्वतन्त्र सांसदहरूले भने अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

Back to top