×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तास्थित माउण्ट हर्मन माद्यामिक विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा दन्त शिविर तथा आँखा शिविर सम्पन्न भएको हो । 

समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत माट्रिका आई फाउण्डेशन पर्सा र कमला डेन्टल क्लिनिक पर्साको सहकार्यमा शिविर सम्पन्न भएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव कुलनारायण प्रधानले जानकारी दिए । उनकाअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै शिक्षक, अभिभावक तथा स्थानीय गरी आठ सय जना शिबिरबाट लाभान्वित भएका छन् । 

दन्त र आँखा शिविरसँगै कक्षा ९ र १० का  छात्र, छात्राहरुलाई लागु औषध सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायव निरीक्षक स्वप्नील देवकोटाले लागुऔषध सम्बन्धी कानुनी प्रावधान र नेपालमा लागुऔषध सम्बन्धी आउने मुद्दाका प्रकृतिका बारेमा प्रशिक्षण दिएका थिए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ का वडाअध्यक्ष अबोध  किशोर कुशवाहाले सामुदायिक सेवा केन्द्र मुर्लीले समुदायमा सकारात्मक प्रभाव पर्ने कार्यक्रम गरीरहेको बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि उनले अनुरोध गरेका छन् । 

समुदाय र प्रहरीलाई जोड्नका लागि सामुदायिक कार्य गर्दै आएको केन्द्रका अध्यक्ष राम सर्राफले बताए । उनकाअनुसार यसअघि अन्य विद्यालयमा पनि सचेतनामुलक कार्यक्रम गरिएको छ । 

कार्यक्रममा केन्द्रका सदस्य मनिष सिहं, वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी बरिष्ठ नायव निरीक्षक गोरख बहादुर शाही, विद्यालयका प्रधानाध्यापक संतोष प्रसाद साह लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top