×

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा मिथ्या सूचना र क्यारियर काउन्सिलिङ्ग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । पर्सागढी नगरपालिकाको समन्वयमा गैरनाफामुलक संस्था युवालयले अभिमुखीकरणको आयोजना गरेको हो । 

पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारस्थित जनता माद्यामिक विद्यालयमा सम्पन्न अभिमुखीकरणलाई सम्बोधन गर्दै पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले निरन्तरता र लगनशीलताले सफलता प्राप्त हुने बताए । भ्रामक तथा मिथ्या सूचनाबाट जोगिनुपर्नेमा जोड दिँदै उनले तथ्य जाँच गरेर मात्रै विश्वास गर्न आग्रह गरे । दृढ आत्मविश्वास, कार्ययोजना र प्रभावकारी कार्यन्वयन गर्न विद्यार्थीहरुलाई सुझाव दिएका छन् । 

एसईई परीक्षामा ननग्रेड (एनजी) ल्याएका विद्यार्थीलाई नगरपालिकाले कोचिङ् कक्षाको व्यवस्था मिलाएको उनले जानकारी गराए । उनकाअनुसार पर्सागढीका चार वटा माद्यामिक विद्यालयका एनजी ल्याएका विद्यार्थीलाई नगरपालिकाले कोचिङ् पढ्ने व्यवस्था मिलाएको छ । जसमा शिक्षकको पारिश्रमिक ६० प्रतिशत पालिकाले दिएको छ भने ४० प्रतिशत विद्यार्थीबाटै लिने गरिएको पालिकाका शिक्षा शाखा प्रमुख देब कुमार गिरीले जानकारी दिए । 

विद्यार्थीको नतिजालाई नगरपालिकाले गम्भिर रुपमा लिएको बताउँदै उनले सुधारका लागि यो कार्यक्रमले सघाउ पुग्ने उनको विश्वास छ । मिथ्या सूचना र क्यारियर सम्बनधी काउन्सिलिंग गर्ने तालिम आगामी दिनमा पालिकाले अन्य विद्यालयमा आयोजना गर्ने शिक्षा शाखा प्रमुख गिरीले बताए । 

तालिममा मिथ्या सूचनाका बारेमा सञ्चारकर्मी सूर्यनारायण वि.क.ले प्रशिक्षण दिएका थिए । उनले मिथ्या सूचनाको प्रवाहले समाजमा पर्ने प्रभाव, मिथ्या सूचनाबाट बच्न ध्यान दिनुपर्ने विषयसँगै मिथ्या सूचना पहिचान गर्ने आधारका बारेमा प्रशिक्षण दिएका थिए । सामाजिक सञ्जालबाट मिथ्या सूचना बढी फैलिने हुँदा सचेत भएर प्रयोग गर्न उनले सुझाव दिए । 

यस्तै क्यारियर काउन्सिलिङ्गका बारेमा प्रेरक वक्ता एवम् मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले प्रशिक्षण दिएका थिए । जिन्दगीलाई उपलब्धीमुलक तरिकाले जिउनका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभव बटुल्न सुझाव दिँदै उनले खुशी भएर बाँच्न आग्रह गरे । अहिलेदेखि लक्ष्य निर्धारण गरेमा सफलता हात पर्न असहज नहुने बताउँदै उनले गन्तव्य तय नहुनु नै असफलताका प्रमुख कारण भएको बताए । धेरै ठाउँमा भड्किने र लक्ष्यबाट बिचलीत हुने प्रवृतिले अहिलेका युवाहरु असफल हुँदै गएको उनको बुझाई छ । 

युवालयका पर्सा जिल्ला प्रतिनीधि राहुल साहकाअनुसार एनजी ग्रुप ल्याएका विद्यार्थीलाई प्रेरित गर्ने र गलत तथा भ्रामक एवम् मिथ्या सूचनाका बारेमा जानकारी गराउने अभिप्रायले अभिमुखीकरणको आयोजना गरिएको हो । विद्यार्थीसँगै बालबालिका तथा युवालाई प्रमुख प्राथमिकतामा राखेर युवालयले काम गर्दै आएको साहको भनाई छ । 

अभिमुखीकरणमा पर्सागढी नगरपालिकाभित्रका चार वटा माद्यामिक विद्यालयबाट एसईई परीक्षामा एनजी ल्याएका एक सय जना विद्यार्थीको सहभागिता रहेको थियो । 
 

Back to top