×

वीरगञ्ज । पर्साको ठोरीमा डिजिटल डेस्क (क्यू आर) को स्थापना गरिएको छ । ठोरी गाउँपालिका वडा नम्बर २ निवासी सुदीप थापाले आफ्नो १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा डिजिटल डेस्कको स्थापना गरेका हुन् । ठोरी जंगल रिसोर्टका अध्यक्ष समेत रहेका थापाले ठोरीका सम्पूर्ण पर्यटकीय स्थानको विवरण समावेश गरेर डिजिटल डेस्कको स्थापना गरेका हुन् ।

डेस्कको उद्घाटन बुधवार ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एक कार्यक्रमका बीच गरेका हुन् । ठोरी आउने पर्यटकको आवश्यकतालाई मध्यनजर गर्दै ठोरीका सम्पूर्ण पर्यटकीय स्थान, त्यहाँसम्म पुग्ने बाटो (लोकेशन), त्यस ठाउँको बारेमा जानकारी, त्यस स्थानको चित्रहरू सँगै ठोरी भ्रमणमा आएकालाई सहजताका लागि महत्त्वपूर्ण सम्पर्क नम्बरहरूलाई एकीकृत गरी डिजिटल डेस्कबाटै हेर्न पाइने व्यवस्था गरिएको युवा उद्यमी थापाले बताए ।

मोबाइलबाट क्यू आर गरेपछि गाउँपालिकाका सबै पर्यटकिय स्थानका बारेमा पूर्ण जानकारी सजिलै पाउन सकिने उनको भनाई छ । स्थानीय सरकारले सञ्चालन गरेको समृद्ध पर्यटन अभियान सफल बनाउनका लागि युवाहरूले गरेका प्रयासको पालिका प्रमुख श्रेष्ठले प्रशंसा गरे । उनका अनुसार डिजिटल डेस्कले पर्यटकको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ । युवाको प्रयासले पालिकालाई पनि जिम्मेवारी थपिएको बताउँदै श्रेष्ठले ठोरीलाई पर्यटकीय हबको रूपमा विकास गर्न पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले युवाहरूकै प्रयासको परिणामस्वरूप ठोरीमा पर्यटकको आगमन बढ्दै गएको बताइन्। सरकार, निजी क्षेत्र र स्थानीय जनता मिलेर सहकार्य गर्दै विकास र समृद्धिका लागि हातेमालो गर्नुपर्नेमा उनको जोड छ।

ठोरी जंगल रिसोर्टका निर्देशक धिर सिंह घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अमृतकृष्ण सापकोटा, निर्मल ठोरी उपभोक्ता समितीका अध्यक्ष बालकुमार बस्नेत, समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनाल, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठोरीका सभापति माधव बस्नेत, सुनाखरी होमस्टेका अध्यक्ष शम्भु पौडेल, पर्यटन व्यवसायी बिबेक बादल, दिकपाल लगायतले डिजिटल बोर्डको अपरिहार्यता र यसले पर्यटन व्यवसायमा पार्ने सकारात्मक प्रभावका बारेमा धारणा राखेका थिए।

सुदीप थापा र रोजिना रेग्मीले १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा पर्यटन प्रवद्र्धनमा टेवापु-याउने अभिप्रायले डिजिटल डेस्कको स्थापना गरेका हुन्। वैवाहिक वर्षगाँठ, जन्मदिन लगायतका पारिवारिक तथा व्यक्तिगत सुखद क्षणलाई पनि सामाजिक कार्यमा योगदान दिएर मनाउन सकिने सन्देश पनि थापा दम्पतीले दिएको वक्ताहरूले बताएका थिए । अरुले पनि थापा दम्पतीको समाजप्रतिको योगदानको अनुसरण गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

Back to top