×

वीरगञ्ज । अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकप प्रतियोगिता खेलेर गृहनगर वीरगञ्ज फर्किएका नेपाली पुरुष क्रिकेट टिमका ओपनर ब्याटर मोहम्मद आशिफ शेखलाई पर्सा क्रिकेट सङ्घले स्वागत गरेको छ । सिमरा विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा पर्सा क्रिकेट सङ्घका अध्यक्ष ई. मानिस सिंहलगायत सङ्घका पदाधिकारी तथा अन्य क्रिकेट प्रेमीहरूले उनलाई नेपालको झन्डा ओढाएर र फुलमालाले सम्मानित गरेका हुन् ।

स्वागत समारोहमा सङ्घका अध्यक्ष सिंहले आशिफको प्रदर्शनको प्रशंसा गर्दै उनले नेपाली क्रिकेटको गरिमा बढाएको बताए । यस अवसरमा उनले आशिफलाई आगामी दिनमा अझ सफलताको शुभकामना पनि व्यक्त गरे ।

आशिफको खेलप्रतिको समर्पण र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन गरेको प्रयासको सिंहले खुलेरै प्रशंसा गरे । उनले भने, “आशिफले हामी सबैलाई गर्वित बनाएका छन् । उनको यो सफल यात्रा अझै लामो होस् र आगामी दिनमा अझै राम्रो प्रदर्शन गरुन् भन्ने हाम्रो कामना छ ।”

विकेट किफरसमेत रहेका मोहम्मद आशिफ शेख टी–२० विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेट टिमलाई महत्वपूर्ण योगदान दिएका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको छ । 

आशिफ शेखले पनि आफ्नो अनुभव साझा गर्दै आगामी प्रतियोगिताहरूमा अझ राम्रो प्रदर्शन गर्ने वाचा गरे । “यो समर्थन र माया नै मेरो ऊर्जा हो । म आगामी दिनमा पनि यसैगरी नेपाललाई उच्च स्थानमा पु¥याउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु”, उनले भने ।

साथै, उनले आफ्नो सफलताको श्रेय टिमका सबै सदस्य, प्रशिक्षक, तथा सम्पूर्ण नेपाली क्रिकेटप्रेमीहरूलाई दिएका छन् । सो अवसरमा स्थानीय क्रिकेट समर्थकहरूको पनि उपस्थिती रहेको थियो । 
 

Back to top