×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पर्साको पत्रकारितालाई सुदृढ बनाउन महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताएका छन् । आजदेखि सुरु भएको तीन दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै प्रमुख सिंहले पत्रकारहरूको क्षमता बृद्धिका लागि महानगरले सधैं साथ दिने प्रतिबद्धता जनाए ।

प्रमुख सिंहले मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको औंल्याउँदै, वीरगञ्जको पहिचान उजागर गर्ने खालका समाचार सामग्री प्रकाशन गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । उनले व्यक्तिगत जीवनमा प्रवेश गरेर चियोचर्चो गर्नुभन्दा समाज र सामाजिक समस्याहरूलाई उठान गर्नुपर्नेमा जोड दिए । त्रुटी हुँदा सुधार गर्न तयार रहेको बताउँदै, प्रमुख सिंहले पत्रकारहरूले त्रुटी औंल्याएर सुधार गर्न सहयोग गर्नुपर्ने बताए ।

वरिष्ठ पत्रकार चन्द्र किशोर झाले वर्तमानमा राम्रा र मेहनती पत्रकारहरूको खाँचो रहेको औंल्याए । सञ्चारकर्मीको काम सही मार्ग देखाउने रहेको भन्दै उनले बिरोधीको रूपमा प्रस्तुत नहुन सुझाव दिए । उनले भने, “सञ्चारकर्मीको काम बाटो देखाउने हो, बिरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।”

कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गरे । महानगरपालिकाको आम सञ्चार प्रवर्द्धन समितिका संयोजक ध्रुब अधिकारीले पर्साको पत्रकारितालाई सुदृढ बनाउन महानगरपालिकाले ठूलो लगानी गरेको बताए । उनले पत्रकारको क्षमता अभिवृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार आपतकालिन कोष, लोककल्याणकारी विज्ञापन वितरण लगायत विभिन्न कार्यक्रममार्फत यहाँका पत्रकारहरूलाई सुदृढ बनाउने कार्य भइरहेको बताए ।

मधेस खबरका संचालक क्रान्ति साहको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन सत्रमा मधेस खबरकी सम्पादक माधुरी महतोले स्वागत मन्तव्य दिइन् । कार्यक्रमको सञ्चालन श्याम सर्राफले गरेका थिए । मधेस खबर मल्टिमिडिया प्रा.लि.को आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।
 

Back to top