×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा २ वटा मात्रै टिकट काउन्टर हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको थियो । पुर्जी काट्नका लागि घण्टौसम्म लाइन लाग्नुपरेको पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ निवासी सजिना रसाईलीको अनुभव छ । उनले यात्राडेलीसँगको कुराकानीमा भनिन्, ‘पुर्जी काट्नका लागि बिहानै आउनुपर्ने, त्यसमा पनि भिडभाडले गर्दा घण्टौसम्म लाइन लाग्नुपर्ने बाध्यता छ । फेरी पालो आउँदासम्म डाक्टरको निस्किने बेला भइसक्छ ।’ 

तर अब भने अवस्था फेरिएको छ । नारायणी अस्पतालको नेतृत्व डा. एनामुल हकले सम्हालेसँगै टिकट काउन्टरको संख्या बढाइएको छ । नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा. हक नियुक्त भएसँगै ३ वटा टिकट काउन्टर थपिएको हो । मेसु डा. हककाअनुसार अब पुर्जी काट्नका लागि घण्टौ लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । 

पुर्जी काट्ने काउन्टरमा गर्मी भएको गुनासो आउने बित्तिकै ‘एसी’ जडान गरिएको डा. हकले बताए । काउन्टरसँगै बहिरंग सेवा (ओ.पि.डीं) मा पनि एसी जडान गरिएको छ । डा. हकको यो कदमले गर्मीको समयमा राहतको महसुस भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।

पुर्जी काट्न अस्पताल पुगेका पर्साको ठोरी गाउँपालिका निवासी गगन सुनारले एसी जडान भएसँगै गर्मीबाट छुट्कारा मिलेको बताए । टिकट काउन्टर र ओपिडीमा एसी जडान गर्नुका साथै सबै ठाउँमा पंखा पनि जडान गरिएको अस्पतालका प्रवक्ता सुनिल रौनियारले जानकारी दिए । रौनियारका अनुसार पूराना र बिग्रिएका पंखालाई परिवर्तन गरिएको छ । यस्तै बेडको पनि मर्मतसम्भार गरिएको छ भने आवश्यक थप्ने प्रक्रिाय पनि भइरहेको उनले बताए । 

अस्पतालको सेवाप्रवाहलाई व्यवस्थित बनाउने कार्य आफ्नो प्रमुख प्राथमिकतामा रहेको मेसु डा.हकले यात्राडेलीसँग बताए । उनकाअनुसार पहिलो चरणमा अस्पतालको बाह्य र आन्तरिक सरसफाईमा व्यापक सुधार भएको छ । सरसफाई नभए अस्पतालबाट जति सेवा दिएपनि औचित्य नहुने उनको बुझाई छ । चिकित्सकहरु ओपिडीमा नियमित रुपमा बस्ने गरेको डा.हकले दाबी गरे । यसअघि डाक्टर ओपिडीमा नभेटिने गरेको गुनासो सुनिएपनि आफ्नो कार्यकालमा सुन्न नपर्ने उनको जिकिर छ । 

उनी भन्छन्, ‘अस्पतालको सरसफाई मेरो पहिलो प्राथमिकतामा छ । जहाँ आउँदा खेरी बिरामी र कुरुवाहरुलाई यहाँको वातावरणले नै आकर्षित गरोस् । त्यसका लागि काम भइरहेको छ । बाहिरी र भित्री रुपमा सरसफाई गर्ने काम जारी छ । यस्तै शौचालय, नाला, बेड, ओपिडी लगायतमा व्यवस्थापन गर्ने काममा मैले ध्यान दिएको छु ।’

Back to top