×

वीरगञ्ज । वीरगञ्जको नेशनल ईन्फोटेक (एनआई) कलेजले चार वर्षे स्नातक तह सकेका विद्यार्थीलाई विदाई गरेको छ । स्नातक तहको बि.सि.ए., बि.एस.सी सिएसआईटी को पढाई सकेका विद्यार्थीलाई विदाईसँगै स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको हो । 

एनआई कलेजकी निर्देशक काजल सिंहको अध्यक्षतामा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा शैक्षिक सत्र २०७६ का विद्यार्थीलाई बिदाई तथा शैक्षिक सत्र २०८० का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक काजल सिंहले विद्यार्थीको सिकाई र सफलता नै कलेज तथा शिक्षकको सफलता भएको बताइन् । विदाई भएर जाने विद्यार्थीलाई आगामी जीवन अझै सफल र सुखद बितोस् भन्ने कामना पनि उनले गरिन् । जहाँ गएर जे गरेपनि अनुशासन, धैर्यता र निरन्तरतालाई नछोड्न पनि उनले सुझाव दिएकी छन् । साथै नयाँ आएका विद्यार्थीलाई कलेजको बसाई उपलब्धीमुलक एवम् फलदायी बनाउन कलेजले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले जनाइन् । 

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् प्रेरक वक्ता देवेश गुप्ताले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीको आत्मविश्वास बृद्धि गर्दै सकारात्मक सोचको थालनी गर्नुपर्नेमा जोड दिएका थिए । सकारात्मक सोचले नै जीवनलाई मार्गनिर्देश गर्ने हुँदा शारिरीक एवम् मानसिक दुवै रुपमा स्वस्थ हुनुपर्ने आवश्यक्ता औँल्याए । जीवनलाई सार्थक तुल्याउनका लागि इतिहास रच्ने गरी मेहनत गर्न उनले अनुरोध गरेका छन् । 

कार्यक्रममा कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार, बिआईटी कलेजका प्रिन्सीपल निरज श्रीवास्तव, स्नातक तहका विभागीय प्रमुख बिजय कुशवाह, भाइस प्रिन्सीपल अम्रीश सिंह लगायतको उपस्थिती रहेको थिाये । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक एवम् सचेतनामुलक प्रस्तुती पनि प्रस्तुत गरेका थिए ।

Back to top