×

वीरगञ्ज । स्वदेशमा अवसर छैन भनेर विदेशिने लहर चलेको अवस्थामा, वीरगञ्जका युवाले स्वदेशमै व्यावसायिक सफलता हात पारेका छन् । मोहम्मद अमिनले ‘एअरकन नेपाल’ नामक कम्पनी स्थापना गरेर सयौँ जनालाई रोजगारी दिएका छन् । अमिनकै कम्पनीमा वीरगञ्जमा मात्रै ३५ जना युवाले रोजगारी प्राप्त गरेका छन् ।

यसअघि कतार लगायतका वैदेशिक रोजगारमा रहेका युवा पनि अहिले उनीसँगै कार्यरत छन् । अन्य डिलर तथा सबडिलरहरुमा काम गर्नेको संख्या जोड्दा करिब सय भन्दा बढी युवा प्रत्यक्ष रुपमा रोजगारमा संलग्न भएका छन् । 

१९ वर्षदेखि मोहम्मद अमिनले रेफ्रिजरेशन र एयर कन्डिशनिङको क्षेत्रमा काम गर्दै आएका छन् । एअरकन नेपाल, ८३ वर्ष पुरानो भारतीय प्रमुख कम्पनी ब्लू स्टारको आधिकारिक आयातकर्ताको रूपमा, वीरगञ्ज र काठमाडौँमा कार्यालय स्थापना गरेर पछिल्लो ७ वर्षदेखि सञ्चालनमा छ । स्वदेशमै स्वरोजगार बन्ने अभिप्रायले कम्पनीको स्थापना गरेको कम्पनीका प्रबन्ध निर्देशक मोहम्मद अमिन बताउँछन् । सुरुवाती चरणमा विभिन्न आरोहअवरोहको सामना गरेता पनि, समयसँगै व्यवसाय राम्रोसँग चलेकोमा उनी सन्तुष्ट छन् । 

एअरकन नेपालका महाप्रबन्धक राज आलम भन्छन्, ‘पहिला हामीलाई कसले पत्याउला भन्ने पिर थियो । तर हामीले मेहनतलाई निरन्तरता दियौँ, जसको परिणामस्वरूप अहिले एक वर्षमा ३ हजार भन्दा धेरै एसी बिक्री गर्न सफल भएका छौँ ।’

कम्पनीले वीरगञ्जसहित काठमाडौँ, चितवन, हेटौँडा, भैरहवा, विराटनगर, नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा डिलर थपेर ब्लू स्टार एसीको आयात तथा बिक्री गरिरहेको छ । एअरकन नेपालले एसीसँगै कोल्ड स्टोरेज, सेन्ट्रल एसी, औद्योगिक एसी, डीफ्रिजर, वाटर कुलर लगायतका सामग्रीहरू पनि प्रदान गर्दै आएको छ ।

महाप्रबन्धक राज आलम भन्छन्, ‘हामी ग्राहकको सेवालाई पहिलो प्राथमिकतामा राख्छौँ । गुनासो आउने बित्तिकै त्यसको सुनुवाई गर्ने र समस्या समाधान गर्ने हाम्रो पहिलो काम हो । कहिलेकाँही कर्मचारीहरू व्यस्त भए पनि, हामी ४८ घण्टाभित्रै गुनासोको सम्बोधन गर्छौं ।’

७ वर्षको अवधिमा, एअरकन नेपालले धेरै प्रतिष्ठित ग्राहकहरू कमाएको छ । क्वेष्ट फर्मा, जय श्री हेल्थ केयर, डावर नेपाल, सुर्या नेपाल, ब्रिटानिया नेपाल, नेपाल फर्मा, नेशनल मेडिकल कलेज, रुंगटा मल, दियालो लर्डस्, होटल मकालु, जगदम्बा स्टिल, शालिमार होम, शालिमार सिमेन्ट लगायतका व्यवसायिक स्थानमा एअरकन नेपालद्वारा आयातित ब्लू स्टार एसी जडान गरिएको छ ।

एअरकन नेपालले गुणस्तरीय सेवा र विश्वसनीयताको कारण छोटो समयमा नै धेरै ग्राहकहरूको मन जित्न सफल भएको प्रबन्ध निर्देशक अमिन दाबी गर्छन् ।
 

Back to top