×

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरुमाथि लगाइएको मुद्दाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा सक्रिय नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, र धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजीवन कैदको सजाय सुनाएको कुरालाई उठाएका थिए। उनले यस फैसलाप्रति आपत्ति जनाउँदै सरकारसँग प्रश्न गरेका छन्।

ठाकुरले पुराना पार्टीहरु हतियार उठाएर आएका भएपनि उनीहरुमाथि कुनै मुद्दा नलागेको उल्लेख गरे। उनले माओवादी जनयुद्धमा हतियार उठाएर आएका भएपनि उनीहरुमाथि कुनै मुद्दा नलागेको तर मधेसी नेताहरुमा किन मुद्दा लाग्यो भन्ने प्रश्न गरेका छन्।

उनले भने, "यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन्। माओवादी तपाईहरु जनयुद्ध गरेर नै आउनुभएको छ, तर बताउन सक्नुहुन्छ? उनको कुनैमाथि मुद्दा छ? कसैको माथि मुद्दा छ? आन्दोलन गरेर आएका? हतियार नै उठाएर आएका? छैन। अनि मधेशीहरु माथि नै किन? मेरो यो प्रश्न।"

अध्यक्ष ठाकुरले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरु कुनै नयाँ घटना नभएको बताए। उनले भने, "नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन। मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो। त्यसैले आजभोलि जुन घटनाहरु भइरहेको छ, त्यो कुनै नौलो घटना होइन। त्यो राज्यको चरित्र हो। अदालतको पनि त्यही चरित्र हुन्छ। जो राज्यको चरित्र हुन्छ। किनकी राज्यको अङ्ग हो अदालत पनि। राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुँदैन। त्यसैकारण अदालतको फैसलामा पनि त्यही देखिन्छ।"

ठाकुरको यो भनाइले अदालत र राज्यप्रतिको असन्तुष्टि स्पष्ट रुपमा प्रकट भएको छ।

Back to top