×

वीरगञ्ज । नेकपा एमालेबाट संघीय सरकारमा नेतृत्व गरिरहेका उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणमा उपेक्षित रहेको धनुषा र महोत्तरी जिल्लाको पुल र सडक निर्माणमा यथेष्ट बजेट विनियोजन गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधारका प्रशस्त ठूला, साना सडक र पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ । मन्त्री महासेठको गृह जिल्ला धनुषा र छिमेकी जिल्लामा सडक र पुलको कारण विकासमा पछाडी परेको छ । पहिलो पटक उनले धनुषा र महोत्तरी जिल्लाको पूर्वाधार निर्माणका लागि यथेष्ट बजेट राख्न सफल भएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयको रातो किताबमा रहेका योजनाहरु मध्ये झण्डै ९ अर्ब रुपैयाँको सडक र पुल निर्माणको काम धनुषा र महोत्तरीमा हुनेछ । यो रकम मधेश प्रदेशको पुँजीगत बजेटको झण्डै ४० प्रतिशत रहेको छ ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, स्थानीय सडक पुल कार्यक्रम र रणनीतिक सडक पुल निर्माण तथा पुलेसा संरक्षण कार्यक्रमबाट धनुषा र महोत्तरीमा स्थानीय सडक, पुल र पुलेसामा आवश्यक बजेट मन्त्री महासेठले विनियोजन गराएका छन् ।

विगतमा पनि महासेठ भौतिक पूर्वाधार मन्त्री भएको बेला धनुषा–महोत्तरी जिल्लामा सडक र पुलमा बजेट राखेका थिए । तर यस पटक उनले अधिकांश योजनाहरुमा बजेट बिनियोजन गराएका छन् ।

धनुषा र महोत्तरीमा सडक र पुलमा अत्यधिक बजेट विनियोजन भएको रातो किताब सार्वजनिक भएपछि विभिन्न दलका नेताहरुले मन्त्री महासेठको आलोचना गर्न थालेका छन् । उनी मन्त्री रहेको मन्त्रालय बाहेकका मन्त्रालयहरुको विकास निर्माणको उपेक्षामा नै धनुषा र महोत्तरी लगायत मधेशका जिल्लाहरु रहेका छन् ।

Back to top