×

इलाम: देउमाई नगरपालिका–९, जितपुरमा कुकुरको छाउरालाई लाठीले हानी क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू, र १७ वर्षीय अशोक लिम्बू रहेका छन्।

उनीहरूले कुकुरको खैरो रंगको छाउरोलाई पटक-पटक लाठीले हानेर मारेर खाडलमा पुरेका थिए। यो घटना गत जेठ ३२ गतेको हो। छाउराको हत्या गरेर खाडलमा पुरेको भिडियो उनीहरूले ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ नामका फेसबुक एकाउन्टबाट सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जसले व्यापक विरोध निम्त्यायो।

भिडियो भाइरल भएपछि स्थानीय समुदायमा रोष उत्पन्न भयो र इलाम प्रहरीले तत्काल कारबाही गर्दै अभियुक्तहरूलाई भाग्दाभाग्दै पक्राउ गर्‍यो। घटनापछि पशुपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएको थियो।

इलाम प्रहरीले 'पशुपंक्षीसम्बन्धी कसुर' अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।

Back to top