×

वीरगञ्ज । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादवलाई पक्राउ गरेको हो । 

यादवले एक वर्षको अवधिमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार गरेको सीआईबी स्रोतले जनाएको छ । उनले पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो पेमार्फत् ३ करोड ३८ लाखको कारोबार गरेको सीआईबीले जनाएको छ ।

उनी पेवेल र सजिलो भुक्तानी सेवाका बारास्थित एजेन्ट हुन् । उनी पक्राउ परेसँगै पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट गरी पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

सीआईबीको अनुसन्धानका क्रममा पेवेलले २७ अप्रिल २०२३ देखि हालसम्म करिब एक वर्ष अवधिमा ८२ अर्बको कारोबार गरेको फेला परेको छ । जसमा ६१ अर्ब ५० करोड रुपैयाँ नगद जम्मा भएको छ । जसमध्ये १ अर्बको त भौचर नै भेटिएको छ । कनेक्ट आईपीएसमार्फत ४ अर्बको कारोबार भएको छ ।

पेवेलको नेपालमा १९ सय एजेन्ट छन् । ती मध्ये २० एजेन्टले तस्करीको सुन खरिद बापतको भुक्तानी अवैध तरिकाले पेवेलको खातामा सोझै जम्मा गरेर एजेन्टमार्फत कारोबार गरेको देखाएको सीआईबीको भनाइ छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदन अनुसार अहिले सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

जसक्रममा सुन तस्करीमा संलग्न भएको आरोपमा १३ जना र तस्करीको सुनको भुक्तानी र हुण्डीमा जोडिएको आरोपमा सजिलो र पेवलका सञ्चालक तथा कर्मचारी गरेर ७ जना पक्राउ गरेका छन् । सुन र हुण्डीको अवैध कारोबार गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले पेवेल र सजिलो पेको कारोबार २१ जेठमै रोक्का गरेको छ ।

उनीहरूमाथि सीआईबीले हुण्डी, सुन तस्करी, तथा क्रिप्टोसँग जोडेर राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर, भन्सार छली तथा चोरीपैठारी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।
 

Back to top