×

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सा जिल्लामा राजस्व चुहावट नियन्त्रणमा सक्रियता देखाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले सीमा क्षेत्रमा कडाई गरेपछि अवैध रुपमा भित्रिने सामान बरामदको संख्या बढेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब साढे २७ करोड बढीको बिलबिजक नभएको सामान सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट बरामद गरेको छ । ती सामग्रीहरू राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले १५ करोड ४० लाख ४५ हजार दुई सय ६२ रुपैयाँ बराबरको सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको र १२ करोड पाँच लाख ३१ हजार छ सय १० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री वीरगञ्ज भन्सार कार्यालयमा जिम्मा लगाइएको बताए ।

गत आर्थिक वर्षमा २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद भएको तथ्यांकले देखाउँछ । सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले अवैध रुपमा हुने तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बल कुनै कसर बाँकी नराख्ने बताए ।

पर्सा जिल्ला खुला सीमा नाकासँग जोडिएकाले सुरक्षामा चुनौती रहेको भए पनि हरसम्भव प्रयास जारी रहेको उनले बताए । सीमित स्रोत र जनशक्तिका कारण अपेक्षित काम गर्न कठिनाइ भए पनि सीमानाकामा सिसी क्यामेरालगायत उपकरण जडान गरी तस्करी नियन्त्रणको प्रयास भइरहेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले चोरी तस्करीलाई पूर्ण रुपमा रोक्न नागरिकहरूको सहयोग पनि आवश्यक रहेको उल्लेख गरेको छ ।
 

Back to top