×

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ निवासी ४२ वर्षीय कृष्ण आचार्य (परिवर्तीत नाम) महिनामा ५ दिन घरमा खाना खाँदैनन् । पत्नी महिनावारी भएको ५ दिन उनी बाहिरै खाना खान्छन् । त्यो अवधीमा उनी घरमा पूजा पनि गर्दैनन् । 

‘श्रीमतीलाई महिनावारी भएको समयमा सकेसम्म खाना पकाउन दिँदैन, पकाइन् भने पनि म खाना बाहिरै खान्छु । हुन त हामी दुवै जना शिक्षित छौँ, तर पनि पहिलैदेखि चली आएको मान्यता भएर मनले मान्दैन’, उनले थपे, ‘त्यो अवधीमा म पूजा पनि गर्दैन । ५ दिनपछि नुहाईधुवाई गरेर मात्रै पूजा गर्ने गरेको छु ।’ उनकाअनुसार यो पहिलैदेखि चल्दै आएको मान्यता हो । उनी यसलाई महिनावारी विभेद हो भनेर स्विकार गर्न तयार छैनन् । 

महिनावारी भएकै कारण कहिलेकाँही अचेत भएर अस्पताल भर्ना हुनुपरेको वीरगञ्ज निवासी डा. सुष्मा तिवारी द्विवेदीले अझै बिर्सिएकी छैनिन् । १४ वर्षदेखि महिनावारी सुरु भयो भने १५ वर्षको कलिलो उमेरमै बिहे भयो । घरमा भान्सामा पस्न अनुमती थिएन भने खाना पनि पस्किएर छुटै थालिमा खानुपरेको उनलाई अझै याद छ । महिला अधिकारकर्मीसमेत रहेकी उनी अहिले पनि महिनावारी भएको ७ दिन पछि मात्रै पूजा कोठामा प्रवेश गर्छिन् । उनले भनीन्, ‘हामी परिवर्तन भएपनि हामीले पितृसतात्मक सोच परिवर्तन गर्न सकिरहेका छैनौ । म मेरो छोरा छोरीलाई नबार्न भन्छु र बार्दिन पनि तर सासु आमाको अगाडी नबारेर बस्न मनले मान्दैन ।’ 

उनी वीरगञ्जस्थित सिद्धार्थ इन्टरनेशनल स्कुलकी प्रमुख पनि हुन् । वीरगञ्ज महानगरअन्र्तगतको शिक्षा समितिसँगै उनले महानगरभित्रका करिब ९० वटा सामुदायिक विद्यालयको अनुगमन गर्ने अवसर पाएकी थिइन् । उनकाअनुसार ति ९० वटा सामुदायिक विद्यालयकै शौचालय छात्रामैत्री छैनन् । यति मात्रै नभएर अपवाद बाहेक अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि महिला मैत्री नभएको उनको भनाई छ । उनी भन्छिन्, ‘मैले अहिलेसम्म देखेका स्कुल तथा कार्यालयका शौचालय हेर्ने हो भने झण्डै ९० प्रतिशत भन्दा बढीमा न शौचालयको पूर्वाधार राम्रो हुन्छ, न पानी पाइन्छ । यस्तो अवस्थामा प्याड कसरी लगाउने, कसरी फेर्ने, व्यवस्थापन कसरी गर्ने ? यस्तै समस्याले गर्दा किशोरीहरु स्कुल आउन चाहँदैनन् । अनि महिला कर्मचारीहरु महिनावारी हुँदा कार्यालय जान रुचाउँदैनन् ।’ उनले थपिन्, ‘जबसम्म महिनावारी भएको बेला पनि प्याड पाइन्छ र मजाले लगाउने तथा फेर्ने वातावरण पनि छ भनेर ढुक्क भएर स्कुल तथा कार्यालय जाने अवस्था आउँदैन, तबसम्म न शैक्षिक गुणस्तरमा नै विश्वास गर्न सकिन्छ न पूर्वाधार नै विकास भएको मान्न सकिन्छ ।’

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ निवासी सलमा खातुन सितिमीति विद्यालयमा अनुपस्थित हुँदैन्थिन् । सामान्य, ज्वरो, रुघाखोकी भएको बेलासमेत पढाई छुट्ला भन्ने पिरले विद्यालय नछुटाउने सलमाले महिनावारी सुरु भएदेखि भने ३ दिन विद्यालय छोड्नुपर्ने बाध्यता आयो । उनी चाहेर पनि महिनावारी भएको ३ दिनसम्म विद्यालय जान सक्दिनथिन् । जसले गर्दा उनको ३ दिनको पढाई छुट्थ्यो । चौथो दिन कक्षामा बस्दा उनको ध्यान पढाई भन्दा पनि कपडामा रगत लाग्छ कि भन्नेमा बढी हुन्थ्यो । 

एक महिनामा छुटेको ३ दिनको पढाई साथिको सहयोगमा पढ्छु भन्ने आँटेकी उनले हरेक महिना ३ दिनका दरले १ वर्षमा ३६ दिनको पढाई छुटाउँदा आफुलाई पहिलाको तुलनामा कमजोर भएको प्रत्याभूति गरिन् । मुस्लिम समुदायबाट प्रतिनिधीत्व गर्ने सलमाले अरु जस्तो भान्सामा पस्न नहुने, दाइभाइलाई हेर्न, छुन नहुने जस्ता विभेद भने भोग्नुपरेन । महिनावारी हुँदा धार्मिक किताब (कुरान ) छुन र नमाज पढ्न नपाइने उनले बताइन् ।  

महिनावारीकै कारण सलमालाई विद्यालयमा अनुपस्थित हुनु मात्रै परेन । खेल क्षेत्रतर्फको रुचीलाई पनि उनले मार्नुप-यो। ब्याडमिन्टन, भलीबल, दौड लगायतका खेलहरुमा सक्रिय रहने सलमाले महिनावारी हुन थालेदेखि खेल छोरी मान्छेका लागि हैन रहेछ भन्ने महसुस गरिन् । पोखरिया नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी सलमालाई कतै कार्यक्रम, तालिम वा अन्य कुनै ठाउँमा जाँदा पनि महिनावारी हुने दिन होकी अरु दिन भन्ने ध्याउन्न हुन्छ, र उनले त्यो दिन महिनावारी नभइदिए हुन्थ्यो भन्ने कामना गर्छिन् ।

महिलाले मात्रै सञ्चालन गरीरहेको मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता क्षेत्रीको महिनावारी अनुभव अली फरक छ । साढे १० वर्षको उमेरमा उनी स्कुल जान तयार भएको बेला एक्कासी रगत बगेपछि उनी आत्तिइन् । उनलाई के भयो भन्ने नै थाहा भएन । डराएर उनले आमालाई सुनाएपछि महिनावारी भएको उनले चाल पाइन् । विद्यालय जान तमतयार भएको अवस्थामा महिनावारी भएपछि स्कुलतिर हिँडेका उनका पाइला अघि बढ्न सकेनन् । त्यसपछि मम्मीले उनलाई एउटा कोठामा बस्न र सो अवधिमा दाईभाई र छोरा मान्छे कसैलाई नछुन तथा नहेर्न भनेपछि उनको मनमा कौतुहलता पलायो । ५ दिन एउटै कोठामा बसेर उनले पहिलो महिनावारीको पल बिताइन् । 

बारीमा लगाएको काँक्रो, सुन्तला, कागती र फर्सी कुहिएपछि महिनावारी भएका छोरी मान्छेले छोएर कुहिएको भन्ने आरोप लगाइन्थ्यो । त्यसपछि कविताले विद्रोह शुरु गरिन् । घरमा कोही नभएको मौका छोपेर उनले महिनावारी भएको बेला सबै छोइदिन्थीन् । महिनावारी भएकै बेला उनी पूजा कोठा पसेर पूजा गर्थिन् । त्यति गर्दा पनि केही नभएपछि उनले सबै अन्धविश्वास र रुढीवादी परम्परा रहेछ भन्ने निचोड निकालिन् । 

यद्यपी घरपरिवार र समाजलाई बुझाउन भने उनले अझै पनि सकेकी छैनीन् । उनी भन्छिन्, ‘आमा, हजुरआमाले वर्षाैदेखि बार्दै आएको महिनावारी मैले एकैपटक द्वन्द गरेर हटाउन सक्तीन । सानो बनेर सकेसम्म भिडियो मार्फत वा उदाहरण देखाएर सम्झाउने प्रयास गर्नुपर्छ ।’  बाहिर महिनावारी विभेदका कुरा गर्ने र घरमा आएपछि आफैले बार्ने उदाहरणको साँच्ची पनि हुन् उनी । चेतनाको स्तर सबैको समान छैन । त्यसैले सबैले सहज र सरल ढंगले बुझ्न सक्नेतर्फ सरोकारवालाले ध्यान दिन उनी सुझाव दिन्छिन् । 

वीरगञ्जको एक विद्यालयमा अध्यापन गराउने श्वेता क्षेत्रीको मन पर्ने रंग सेतो थियो । सेतै रंगका कपडा लगाउनेदेखि हरेक सामान पनि सेतै रंगका खरिद गर्ने उनलाई अचेल सेतो रंग देख्दा रिस उठ्छ । सेतो रंगकै कपडा लगाएको बेला महिनावारी भयो । उनको सेतो कपडामा रातो रगतको दाग स्पष्टसँग देखिन थालेपछि बाटोमा हिँडदा उनले थुप्रै असहज र अप्ठ्यारा नजरको सामना गर्नुपरेको थियो । त्यसकै उपज भनम, अचेल उनले भुलेर पनि सेतो रंगको कपडा लगाउँदिनन् । सेतो कपडा उनलाई छुनै मन लाग्दैन । 

एकातिर भान्सा पस्न नपाउने, पूजा गर्न नपाउने अवस्था हाबी छ भने, अर्काेतिर केही अपवाद पनि छन् । जसले महिनावारी बार्दैनन् र बार्नुहुँदैन भनेर अरुलाई पनि सचेत गराइरहेका छन् । अपवाद भित्रकी एक हुन्, काठमाण्डौको शंखमुल निवासी होहंसा खड्का । महिनावारीकै कारण विभेद भोग्नुपरेको उनलाई याद छैन । सुरुमा आमाले बार्नुपर्छ भनेपनि उनको विद्रोही स्वभावलाई बाबाको भने समर्थन थियो । बुबा, र दुई छोरी एकातिर र आमा अर्काेतिर भएपछि आमा एक्लैको केही लागेन । अहिले आमाले पनि त्यतिबेला आफै गलत रहेछु भन्ने महसुस गरेको बताउँछिन् । 

महिनावारी विभेदका थुप्रै स्वरुपहरु छन् । ति स्वरुपलाई अधिकांशले परम्पराको रुपमा स्विकार गर्दै आएका छन् ।  महिनावारी विभेदकै कारण शिक्षा, स्वास्थ्य, आर्थिक, राजनीतिक लगायतका थुप्रै क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पर्ने रहेछ भन्ने चेतनाको विकास गर्नुपर्नेमा मर्यादित महिनावारीकी विश्व अभियानता डा. राधा पौडेलको जोड छ ।

विद्यालय शिक्षादेखि नै महिनावारी सम्बन्धी हाम्रो समाजमा रहेका गलत परम्पराको बारेमा विद्यार्थीलाई जागरुप बनाउन सकेमा महिनावारीलाई मर्यादित बनाउन सकिने उनको धारणा छ । उनी भन्छिन्, ‘महिनावारी विभेदले भान्सादेखि संसदसम्म पनि महिलालाई पछाडी पारिरहेको छ । अधिकांश लैंगिक तथा घरेलु हिंसाको पछाडीका कारण पनि महिनावारी विभेद जोडिन आउँछ । महिनावारीकै कारण हुने विभेद हटाउन सकेमा अधिकांश लैंगिक तथा घरेलु हिंसा पनि कम गर्न सकिन्छ ।’ 
 

Back to top