वीरगञ्ज । राष्ट्रिय कर सप्ताहको अवसरमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ ।
वीरगञ्जको घडीअर्वास्थित आन्तरिक राजश्व कार्यालयको सभा हलमा एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालको सभापतित्वमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियाका क्रममा एनवाइईएफ वीरगञ्जका पदाधिकारी तथा सदस्यहरूले नेपाल सरकारको कर सम्बन्धी प्रावधानका विषयमा आफ्नो जिज्ञासा, गुनासो र भोगिरहेका समस्याहरू उठान गरेका थिए ।
सदस्यहरूबाट उठेका प्रश्नहरूको आन्तरिक राजश्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले उत्तर दिएका थिए । उनले उद्यमी एवम् व्यवसायीहरूले भोगिरहेको समस्या जायज भएको बताउँदै समाधानका लागि आफूले पहल गर्ने बताए । उनले सबैलाई करको दायरामा आउन् आग्रह गर्दै कर चोरी गर्ने, गलत गतिविधि गर्नेहरूको बारेमा आफूलाई जानकारी गराउन आग्रह गरे ।
राष्ट्रिय कर सप्ताहको उद्देश्य आम सर्वसाधारणलाई कर र राजश्वको विषयमा जागरूक बनाउनु रहेको भन्दै उनले यसलाई सफल पार्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल एनवाइईएफका सदस्यहरूसँगै नेपाल औषधी व्यवसायी सङ्घ लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।