×

वीरगञ्ज । महापर्व छठ शुभारम्भ भइसकेको छ । ‘नहाय खाय’ शुक्रवार व्रतालुहरूले सम्पन्न गरेका छन् । नहाय खायमा पवित्र जलाशयमा स्नान गरी व्रतालुहरूले चोखो खाने गर्छन् ।

छठ नेपालको तराइ मधेसका प्रमुख पर्व हो । छठ पर्व प्रारम्भ भएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । दिउँसै सुनसान देखिने वीरगञ्ज बजारमा छठका लागि सरसामान किनमेल गर्ने सर्वसाधारणको चहलपहल अबेरसम्म देखिन थालिएको छ । 

आर्थिक मन्दीका कारण दसैँ, दीपावलीमा खासै व्यापार भएको थिएन । छठमा भने व्यापारमा केही सुधार देखिएको स्थानीय व्यापारीहरू बताउँछन् । छठ पर्वमा कपडादेखि माटाका भाँडा, बाँसबाट बनेका सामग्री नाङ्गलो, चंगेरासहितको मूल्य बढेको छ । त्यसैसरि, खाद्यान्न सामग्रीहरूको माग बढेसँगै मूल्य पनि बढेको बताइएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारीले दीपावलीदेखि बजारको आर्थिक कारोबारमा बिस्तारै सुधार आएको बताए । ‘दसैँमा बजारमा सर्वसाधारणको चहलपहल भए पनि आर्थिक कारोबार खासै भएको थिएँ’, उनले भने, ‘तर दीपावलीदेखि छठसम्म तुलनात्मक रूपमा सुधार देखिएको छ ।’

छठ पर्वमा अन्य सामग्री भन्दा केरा, सुन्तला, स्याउसहितका फलफूलको कारोबार अत्यधिक हुने गरेको छ । 

नेपालको विभिन्न जिल्लाका सहर, गाउँ बस्तीसम्म मनाउन थालिएको छठ पर्वको उल्लास तराइ/ मधेसमा अपेक्षाकृत बढी देखिन्छ । तराइ/मधेसमा मनाइने छठ पर्वमा सहभागी हुन देश विदेशबाट भारी सङ्ख्यामा पर्यटकहरू आएका छन् । 

खास गरी वीरगञ्ज, जनकपुरधाम, राजविराज लगायतका स्थानमा छठ पूजाको दर्शन गर्न आउनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालमा छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता प्राप्त छ । सङ्घीय सरकारले सन्ध्या अर्घको दिन आइतबार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेश सरकारले प्रभातकालीन अर्घ्य हुने सोमबार पनि बिदा दिएको छ । आइतबार साँझ अस्ताउन लागेको भगवान् सूर्यलाई पूजा गरिने र सोमबार बिहान उदाउँदो सूर्यदेवको पूजा गरिने छठ पर्वका लागि व्रतालुहरूले झन्डै ३६ घण्टाको उपवास बस्छन् । व्रतालुहरू शनिवार राति खरनाको प्रसाद ग्रहण गरेदेखि नै उपवास प्रारम्भ भएको मानिन्छ ।

Back to top