वीरगञ्ज । नेकपा एमाले पर्साको आयोजनामा पोखरियामा हुन लागेको पार्टी प्रवेश कार्यक्रमको तयारीलाई तीव्र पारिएको छ । मङ्सिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना हुन लागेको कार्यक्रमको तयारी तीव्र पारिएको हो ।
पार्टी प्रवेश कार्यलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जिल्ला अध्यक्ष डा. विसंवर शर्माले बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारलगायत विभिन्न पार्टी परित्याग गरेर नेताहरू प्रवेश गर्न लागेका छन् ।
एमालेका पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय कमिटीका अध्यक्ष राजेश्वर प्रसाद साहले पार्टीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष लगायत एमालेका पदाधिकारी जुटेर कार्यक्रमलाई सफल बनाउन युद्ध स्तरमा काम गरिरहेको बताए ।
रौनियार जनता समाजवादी पार्टी नेपाल त्यागेर एमाले प्रवेश गर्न लागेको नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष विध्यांचल ठाकुरले बताए ।