वीरगञ्ज । मधेसको सबैभन्दा ठूलो पर्व छठको तयारी थालिएको छ । छठ पर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा शृङ्गारिने काम भइरहेको छ ।
कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ । मधेसमा छठको आफ्नो छुट्टै महत्त्व रहेको छ । स्थानीयहरूले वीरगञ्जस्थित घडीअर्वा पोखरी, नगवा पोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई आफ्नो विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम गरिरहेका छन् । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठ पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा भीड समेत बढेको छ ।
छठ पूजामा हुनसक्ने आपराधिक गतिविधिलाई रोक्न वीरगञ्ज नगर क्षेत्रसहित जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले बताए । छठ घाटमा सुरक्षाका लागि थप प्रहरी समेत परिचालन गरिने उनले बताए । छठ व्रतालुहरू पूजा गर्न पोखरी, नदी, तलाउ लगायतका स्थानमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकोले विशेष क्यूआरटी टोली, मोबाइल गस्तीदेखि र स्ट्राइकिङ्ग सहितका प्रहरी टोली परिचालन गरिने एसपी शाहले बताए ।
उनले भने, ‘फास्ट रिस्पोन्सका लागि क्यूआरटी अर्था क्वीक रिस्पोन्स टिम परिचालन गरिनेछ । कुनै पनि घटना भए लगतै वीरगञ्ज महानगरमा पाँच मिनेट भित्र क्यूआरटी टोली पुग्नेछ । त्यसका अतिरिक्त मोबाइल टोली परिचालन गरिनेछ ।’