वीरगञ्ज । सर्लाहीको मलङ्गवामा भएको घटनाको विरोधमा शनिवार दिनभर वीरगञ्ज बजार बन्द भएको छ ।
घटनामा दोषीहरूमाथि कारबाहीको माग गर्दै हिन्दू समाज वीरगञ्जले शनिवार वीरगञ्ज बजार बन्द गरेको हो ।
बन्दका कारण वीरगञ्ज बजार बन्द रह्यो । मुख्य बजारमा बन्दको प्रभाव देखिए पनि भित्री क्षेत्रमा प्रभाव भने देखिएको थिएन । सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन भएका थिए ।
बन्दको कार्यक्रम सफल बनाउन समाजसँग आबद्ध युवाहरूले नगरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरूले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच सामान्य झडप समेत भएको थियो । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
त्यसअघि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुसले नगर परिक्रममा गरेको थियो ।
बिहीबार साँझ सर्लाहीको मलङ्गवामा भगवान् गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समूहबिच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको थियो । यादवको अवस्था गम्भीर छ । उनको हाल वीरगञ्जको एक निजी अस्पतालमा उपचार चलिरहेको छ ।