वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गाउँ गाउँ पुगेर स्थानीयसँग भेट गर्नुका साथै उनीहरूको गुनासो तत्काल सम्बोधन हुने गरी अभियान सुरु गरेका छन् ।
मेयर सिंहले प्रत्येक दिन एक टोलमा पुगेर त्यहाँको समस्या सुन्नुका साथै गर्नु पर्ने कामका बारेमा स्थानीयसँग सुझाव लिने अभियान सुरु गरेका हुन् ।
स्थानीयकै मागअनुसार विकास निर्माण तथा स्वास्थ्य, शिक्षा जस्ता विषयमा रणनीति बनाउनुका साथै सल्लाह सुझावअनुसार काम गर्न आफू गाउँ गाउँ आउन सुरु गरेको मेयर सिंहले बताए ।
शुक्रवार वडा नम्बर २९ मुसैलीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या सुन्नुका साथै स्थलगत रूपमा नै गाउँको अवलोकन गरी तत्काल स्थानीयको माग अनुसारको काम सुरु गर्न प्राविधिक टोलीलाई निर्देशन दिए । महानगरभित्रको ग्रामीण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले त्यसका लागि बजेट छुट्याएर काम अघि बढाएको बताए ।
स्थानीयले मुसैली चोकदेखि उत्तर पूर्व सडकमा नाला निर्माण गर्न, सडक निर्माण गर्न, मन्दिर तथा स्वास्थ्य संस्थाको सेवा चुस्त पार्न आग्रह गरेका थिए ।
वडाध्यक्ष धर्मेन्द्र चौधरीले आफू वडाको विकासका लागि स्थानीयको राय बमोजिम अघि बढेको भन्दै त्यसका लागि मेयरलाई आफूले झकझकाउन नछाड्ने बताए ।
कार्यक्रममा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।