क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको बताएको छ । क्यानडाकी विदेश मन्त्री मेलाइनी जोलीले भारतीय कूटनीतिज्ञलाई सोमबार देश निकाला गरेकोबारे जानकारी दिएकी हुन् ।
क्यानडाबाट निकालिएका भारतीय कूटनीतिज्ञबारे विस्तृत जानकारी दिइएको छैन । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता हर्दिप सिंह निज्जारको हत्यामा भारतीय संलग्नता रहेको हुनसक्ने बताएकै दिन ती कूटनीतिज्ञलाई नयाँ दिल्ली फिर्ता पठाइएको हो ।
प्रधानमन्त्री ट्रुडोले क्यानडेली संसद्लाई सम्बोधन गर्दै हत्यामा भारतीय संलग्नता रहेकोबारे आफूहरूले सूचना फेला पारेको बताएका थिए । क्यानेडेली नागरिक निज्जरलाई गत जुन १८ मा गोली प्रहार गरी हत्या गरिएको थियो । ब्रिटिस कोलम्बियाको सुर्रेमा रहेको गुरुद्वारा अगाडि निज्जरलाई गोली हानिएको थियो ।
निज्जरलाई खालिस्तान अभियानको नेतृत्वकर्ता मान्ने गरिएको थियो । भारतीय राज्य पञ्जाबलाई भिन्नै देश (खालिस्तान) बनाउनु पर्ने माग राख्दै विभिन्न समूहले अभियान चलाउँदै आएका छन् ।
‘विदेशीको संलग्नतामा एक क्यानडेली नागरिकको क्यानडेली भूमिमा हत्या हुनु भनेको हाम्रो सार्वभौमतामाथिको हस्तक्षेप हो,’ क्यानडाको तल्लो सद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै ट्रुडोले भने, ‘यो हत्या स्वतन्त्र र लोकतान्त्रिक समाजको आधारभूत मान्यता विपरीत छ ।’
निज्जार आफ्नो सवारी साधनभित्रै रहेका बेला मास्क लगाएका दुई हतियारधारीले उनीमाथि गोली प्रहार गरेका थिए । बिबिसीका अनुसार गोली प्रहार हुँदा निज्जर भ्यानकुभर सहरबाट करिब ३० किलोमिटर पर रहेको गुरुद्वाराको व्यस्त पार्किङस्लथलमा थिए ।
हत्या हुनुअघि निज्जरलाई पटक–पटक धम्की दिइएको बिबिसीमा उल्लेख छ । भारतले निज्जरलाई आतङ्कवादीको सूचीमा राखेको थियो । निज्जरले भारतीय भूमिमा सशस्त्र समूह परिचालन गरेको आरोप पनि भारतीय सरकारको थियो । यद्यपि यसअघि नै भारतले निज्जरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारिसकेको छ ।
ट्रुडोले निज्जर हत्याको विषयमा आफूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि कुरा गरेको बताएका छन् । ट्रुडो जी–२० समूहको सम्मेलनमा भाग लिन नयाँ दिल्ली गएका थिए । सेप्टेम्बर ९–१० मा भएको सम्मेलनमा भाग लिन दिल्ली पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री ऋषि सुनाकसँग पनि ट्रुडोले निज्जर हत्याको विषय उठाएका थिए ।
उसो त ट्रुडो र मोदीबिच पनि द्विपक्षीय बैठक भएको थियो । जहाँ मोदीले क्यानडामा भारत विरोधी गतिविधि भइरहेको तर त्यसलाई नियन्त्रणमा लिन ट्रुडो सरकारले खासै प्रयास नगरेको आरोप लगाएका थिए ।
जुनको मध्यमा निज्जरको खुलेआम हत्या भएपछि भारतबाहिर छरिएका शिख समुदाय आक्रोशित बनेको थियो । हत्याको विरोधमा शिखहरुले टोरोन्टो, लन्डन, मेलबर्न, सान फ्रान्सिस्को जस्ता सहरमा प्रदर्शन गरेका थिए । टोरोन्टोमा रहेको भारतीय महावाणिज्य दूतावासअघि सयौँ शिख जम्मा भएका थिए ।
४५ वर्षीय निज्जरको हत्याले लामो समयबाट चल्दै आएको खालिस्तान अभियानलाई फेरि एक पटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन बनाइदिएको थियो । सन् १९८० को दशकमा उग्र बनेको यो अभियानमा लागेकाहरूको विदेशी भूमिमा हत्या हुँदै आएको छ ।
भारतमा साम्य भएको भए पनि क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा रहेका खालिस्तान समर्थकले आफ्नो गतिविधि जारी राखेका छन् । भारतपछि सबैभन्दा बढी शिख बस्ने देश क्यानडा हो । त्यस कारण क्यानडामा खालिस्तान अभियानकर्ताको ठूलो उपस्थिति छ । उता भारतमा भने यो अभियानलाई प्रतिबन्ध मात्र लगाइएको छैन, पञ्जाबका स्थानीय राजनीतिक दलहरूले समेत यसलाई निषेध गरेका छन् ।
निज्जर जस्तै खालिस्तान अभियानकर्ता रहेका अवतार सिंह खान्डाको पनि गत जुनमै मृत्यु भएको थियो । खालिस्तान लिबरेसन फोर्सको प्रमुख भनिएका खान्डाको मृत्यु बेलायतको बर्मिङहममा भएको थियो । उनको मृत्यु कसरी भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । खालिस्तान अभियानकर्ता भने उनलाई विष खुवाएर मारिएको दाबी गर्छन् ।
त्यसअघि मेमा अर्का अभियानकर्ता परमजित सिंह पञ्जाबरको पनि हत्या भएको थियो । भारतले आतङ्कवादी घोषणा गरेको सिंहलाई पाकिस्तानको लाहोरमा गोली प्रहार गरिएको थियो ।
विश्व शिख सङ्गठनका अनुसार निज्जरले आफूलाई ज्यान मार्ने धम्की आइरहेकोबारे क्यानडेली जासुसी संयन्त्रलाई जानकारी गराएका थिए । सुर्रेमा खालिस्तानका विषयमा जनमत सङ्ग्रह गर्ने तयारीमा रहेकाले निज्जर भारतको निशानामा परेको दाबी गरिँदै छ ।
गत वर्ष क्यानडाकै ओन्टारियोमा त्यस किसिमको जनमत सङ्ग्रह गरिएको थियो । ओन्टारियोमा करिब एक लाख ६० हजार शिखको बसोबास छ । तीमध्ये एक लाख शिख जनमत सङ्ग्रहमा सहभागी भएको दाबी छ । तर जनमत सङ्ग्रहको नतिजा भने बाहिर ल्याइएको छैन ।
क्यानडामा खालिस्तान अभियानकर्तालाई भारत विरोधी गतिविधि गर्न छुट दिइएको भन्दै मोदी सरकारले पटक–पटक असन्तुष्टि व्यक्त गरेको थियो । यस्तो गतिविधि आफ्नो आन्तरिक मामलामाथिको हस्तक्षेप रहेको भारतको भनाइ थियो । उता क्यानडेली प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारले भारतले क्यानडाको आन्तरिक मामलामा निरन्तर धावा बोलेको आरोप लगाएका थिए ।
पछिल्लो समय खालिस्तान अभियानको विषयका कारण क्यानडा र भारतबिच सम्बन्ध चिसिएको छ । दुई देशबिच हुने भनिएको स्वतन्त्र व्यापार सम्झौता पनि हाललाई स्थगित गरिएको छ ।