वीरगञ्ज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक सार्वजनिक भएको छ ।
पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बिच शुक्रवार लेखक डा. ओम मूर्ति अनिल, उनी श्रीमती मनीषा, छोरी अनिशा र छोरा आरभले संयुक्त रूपमा अनावरण गरे ।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, दुःखसुख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।
पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । त्यस्तै व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायतका विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । पुस्तकले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिनेछ ।
२४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ । पुस्तक प्रकाशनको मूल उद्देश्य पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्ध वृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत खर्च गरिने फाउन्डेसनले जनाएको छ ।