वीरगञ्ज । भारतको रक्सौलबाट लागूऔषध लिएर नेपाल छिरेका एक व्यक्तिलाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका – २ छपैयास्थित इदगाह चोकबाट प्रहरीले लागूऔषधसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका – २ निवासी ५० वर्षीय प्रदीप बोहरा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बोहराको साथबाट नुरफिन १४७ एम्पुल, फेनारगन–१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस लागूऔषध बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार पक्राउ परेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको छ ।
वीरगञ्ज नाकालाई लागूऔषध कारोबारी र सेवनकर्ताहरूले ट्रान्जिटको रूपमा प्रयोग गर्दै आइरहेका छन् । यहाँ दिनहुँ लागूऔषधसहित मानिस पक्राउ पर्ने गरेका छन् ।