वीरगञ्ज । सत्तारुढ दल नेपाली काङ्ग्रेसका युवा नेताहरूले नै वीरगञ्जमा सरकार र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेका छन् ।
काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमण विरुद्ध काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल पर्साका नेता कार्यकर्ताहरूले बिहीबार साँझ घण्टाघर चोकमा सरकार र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी तरुण दलका नेता कार्यकर्ताहरूले ‘नालायक सरकार मुर्दावाद’, ‘हत्यारा सरकार मुर्दावाद’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
नाराबाजी पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस पर्साका सहसचिव नवीन सिंहले यादवमाथि भएको साङ्घातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरे । उनले लोकतन्त्र र गणतन्त्र विरोधी शक्तिहरू काङ्ग्रेसलाई तर्साउने हरकतमा लागि बताउँदै त्यस्तो हरकतबाट काङ्ग्रेसलाई डराउन नसकिने जिकिर गरे ।
सिंहले अराजक र अपराधकीक तत्त्वहरूलाई सरकारले कारबाही नगरे काङ्ग्रेसले देशभर आन्दोलन चर्काउने चेतावनीसमेत दिए ।