×

वीरगञ्ज ।  वीरगञ्जमा देखिएको खानेपानीको चरम अभावलाई परिपूर्ती गर्ने गरी आवश्यक गृहकार्य भइरहेको अर्थमन्त्री डा. प्रकाशसरण महतले बताएका छन् । नेपाल प्रेस युनियन पर्साले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले तत्कालिन र दीर्घकालिन रुपमा समाधान गर्ने गरी काम भइरहेको जानकारी दिए ।

जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा देखिएको पानी अभावले गर्दा खेती पनि हुन नपाएको चिन्ता व्यक्त गर्दै यसले खाद्य अभावको अवस्था सृजना गर्ने उनले संकेत गरे । अर्थमन्त्री डा. महतले भने, ‘खानेपानी अभावको समस्याका विषयमा म पनि एकदम गम्भिर छु, र सरकार पनि गम्भिर छ । हामीले यसको तत्कालिन र दीर्घकालिन समाधान हुने गरी आवश्यक काम गरीरहेका छौँ ।’ 

सिंचाईको समस्यालाई पनि समाधान गर्नका लागि आवश्यक अध्ययन भइरहेको उनले जानकारी गराए । साथै कृषकलाई आवश्यक पर्ने रसायनिक मलको व्यवस्थापनमा पनि सरकार गम्भिर भएको बताउँदै उनले आवश्यक मल आपूर्तीको सुनिश्चितता गर्न अर्थमन्त्रालयले निश्चित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । 

कृषि औजार कारखानामा पनि आफूले अनुगमन तथा निरीक्षण गरेको जानकारी गराउँदै त्यसलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि सरकार गम्भिर रहेको अर्थमन्त्री डा. महतको भनाई छ । चिनि मिल सञ्चालनका विषयमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो विषयमा मेरो फरक धारणा छ, हचुवाको भरमा सञ्चालन हुन्छ भनेर म भन्दिन, आवश्यक अध्ययन र त्यसको सम्भाव्यताको बारेमा छलफल गरेर व्यवस्थापकिय ढंगले सञ्चालनका लागि कसैलाई जिम्मा दिएर हुन्छ वा के गरेर हुन्छ । चिनी मिल सञ्चालनका लागि सरकार गम्भिर छ ।’ उनले थपे, ‘निजी चिनी मिलहरु नै राम्रोसँग सञ्चालन हुन नसकिरहेको अवस्थामा सरकारी मिल चल्छ भन्ने मलाई लाग्दैन ।’

आयातित सामग्रीमा लेबलिङ्ग गर्नुपर्ने नयाँ प्रावधानका बारेमा स्पष्ट पार्दै उनले यसले अवैध रुपमा आयात हुने सामग्री नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उद्योगी व्यवसायीहरुमा देखिएको अन्यौलता स्वभाविक भएको बताउँदै उनले भने, ‘लेबलिङ् महत्वपूर्ण छ, यसबाट कुन सामान आधिकारी हो, कुन अनधिकृत हो भनेर छुट्याउन सजिलो हुन्छ र पारदर्शी पनि हुन्छ । सुरुमा सबै कुरा झन्झट लाग्छ, त्यसैले केही समय झन्झट भएपनि बानी परेपछि सहज हुन्छ ।’ 

आईसीपीका लागि अधिग्रहण गरिएको जग्गाका धनीहरुले पाउनुपर्ने मुआब्जा पनि स्रोतको प्रबन्ध हुने बित्तिकै वितरण गरिने उनले जानकारी दिए । आफु मन्त्रालयमा आएसँगै पहिलो चरणको मुआब्जा वितरण भइसकेको बताउँदै उनले भने, ‘यस पटक राजस्व पनि अत्यन्तै न्यून उठ्यो, तर हाम्रा आवश्यक्ताहरु धेरै छन् । सिमित स्रोतबाट असिमित आवश्यक्ताहरु एकैपटक परिपूर्ती हुन सक्दैनन् । त्यसैले स्रोतको प्रबन्ध हुने बित्तिकै मुआब्जाको विषय टुङ्गो लाग्छ ।’ 

अर्थमन्त्री डा. महतले समग्रमा सरकारले सुशासन दिने, पारदर्शीतालाई सुनिश्चितता गर्ने, विकास निर्माणलाई तिव्रता दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यलाई केन्द्रबीन्दुमा राखेर काम गरीरहेको दाबी गरे । नेपाली कांग्रेसका नेतासमेत रहेका महतले भने, ‘नेपाली कांग्रेसले विकास र सेवामा कसैसँग भेदभाव गर्दैन । अरु पार्टीले गरेका छन् भने पनि तपाईहरुले खबरदारी गर्नुहोला । हामी जनतालाई पर्ने समस्या समाधानमा कुनै कसर बाँकी राख्दैनौ ।’ 

प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि प्रकाश उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साहले गरेका थिए । 

Back to top