वीरगञ्ज । नेपालको प्रमुख प्रवेशद्वारको रुपमा वीरगञ्ज परिचित छ । वीरगञ्जकै सिमावर्ती शहर भारतको रक्सौलदेखि वीरगञ्ज हुँदै बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो भन्दा अहिलेका नयाँ पुस्ताले पत्याउँदैनन् । रक्सौलदेखि अमलेखगञ्जसम्मको रेलमार्गलाई जीवन्त बनाउने नेपाली चलचित्र हो ‘आमा’ । जुन नेपालमै बनेको पहिलो चलचित्र पनि हो । तत्कालिन श्री ५ को सरकार सूचना विभागले निर्माण गरेको उक्त चलचित्रलाई हिरासिंह खत्रीले निर्देशन गरेका छन् ।
यो चलचित्रको अधिकांश भाग वीरगञ्जमा छायांकन गरिएको छ । जसले वीरगञ्जका चिनी कारखानादेखि कपडा उद्योग एवम् अन्य कलकारखानासँगै करिब २०२१ सालतिरको वीरगञ्जलाई दर्शाएको छ । ‘युट्युबमा उक्त चलचित्र राम्रो क्वालिटीमा उपलब्ध छैन, सुनेअनुसार चलचित्र विकास बोर्डसँग राम्रो क्वालिटीमा ‘आमा’ चलचित्र छ, त्यो चलचित्र एकपटक वीरगञ्जबासीले हेर्न जरुरी छ’, साहित्यकार गणेशप्रसाद लाठ थप्छन्, ‘आमा, चलचित्र नेपालको इतिहाससँगै वीरगञ्जको पनि इतिहास हो । आजको भन्दा त्यतिबेलाको वीरगञ्ज असाध्यै सुन्दर थियो ।’
‘आमा’ चलचित्रकै प्रदर्शनीबाट वीरगञ्जको आदर्शनगरस्थित पशुपति घोष चौकदेखि दक्षिणतिर अप्सरा टाकिज सुरुवात भएको थियो । जुन त्यतिबेलाको सबैभन्दा सुविधासम्पन्न र व्यवस्थित चलचित्र हल थियो । त्यसअघि यस भेगका चलचित्र पारखीहरु पुग्ने गन्तव्य भनेको रक्सौलमा रहेको कृष्णा टाकिज थियो । जहाँ चलचित्र हेर्न वीरगञ्ज मात्रै नभएर समग्र पर्साबासी, बारा, हेटौडा, नारायणघाट लगायतका ठाउँबाट पुग्ने गर्दथे । यति मात्रै नभएर काठमाण्डौका युवाहरु समेत चलचित्र हेर्न वीरगञ्ज र रक्सौल आउने गरेको वीरगञ्जको चलचित्रसम्बन्धी जानकारसमेत रहेको लाठले स्मरण गरे । ‘मनोरञ्जनको अरु कुनै व्यवस्था थिएन, फिल्म हेर्नु भन्नु नै आफैमा उत्सव हुन्थ्यो । काठमाण्डौमा पनि नचल्ने कुनै फिल्महरु हेर्नका लागि काठमाण्डौका युवाहरुसमेत वीरगञ्ज आउँथे ।’
रक्सौलमा कृष्णा टाकिज हुँदा वीरगञ्जको माईस्थानमा कृती सिनेमा थियो । जसलाई स्वर्गीय कृतीबाबु जोशीले सञ्चालन गरेका थिए । माटोको छाप्रो, माथिबाट कर्कटका पाताले बनाइएको कृती सिनेमा हलभन्दा पनि गोदाम जस्तै लाग्थ्यो । महिलाहरुका लागि कालो रंगको पर्दाले घेरिएको क्याबिन बनाइएको थियो भने बालकोनीमा बेन्चहरु राखिएका हुन्थे । बालबालिकाहरु भने बाहिरैबाट ईट्टा बोकेर फिल्म हेर्न जाने गरेको लाठ बताउँछन् । भुइँमा बसेर आफुले पनि धेरै पटक चलचित्र हेरेको उनले सुनाए । लाठकाअनुसार त्यतीबेला एउटा फिल्म कम्तीमा ३० पैँसादेखि ५० पैँसा हुँदै अधिकतम एक रुपैयाँसम्ममा हेर्न पाइन्थ्यो ।
तीन/चार वर्षसम्म चलेपछि आपसी विवादका कारण कृती सिनेमा बन्द भयो भने त्यसकै सञ्चालकको सहयोगमा छाप्रोसहितको छपकैया पिक्चर हल सञ्चालनमा आयो । फिल्म हेर्ने होडबाजीका बीचमा लगानीकर्ता र व्यवस्थापक पक्षबीचको असमझदारीका कारण हलहरु लामो समयसम्म टिक्न सकेनन् । सुरुमा मुखले बोलेको अभिनय मात्रै गर्ने तर आवाज नआउने चलचित्र हेर्नुपर्ने अवस्था रहेको लाठले स्मरण गरे । उनकाअनुसार फिल्ममा कुराकानी (टकिङ्ग) सुरु भएदेखि नै फिल्म हलको नाम टाकिज रहन गएको हो । प्रोजेक्टर एउटै हुँदा तात्तिने भएकाले एउटा फिल्ममा २ वटा इन्टरभल हुने गरेको पनि लाठले अझै बिर्सेका छैनन् ।
छपकैया पिक्चर हल पनि चल्न नसकेपछि त्यसलाई स्वर्गीय गिरीलाल लाठले लिएर लगानी गरी सुविधासम्पन्न बनाए, र आफ्नै श्रीमती स्वर्गीय विद्या लाठको नाममा विद्या चलचित्र मन्दिर नामाकरण गरे । विद्या चलचित्र हल पनि सँधै हाउसफुल हुने गरेको गणेश लाठलाई अझै याद छ । गिरीलाल लाठ गणेश लाठका काका हुन् । फिल्म हेर्नका लागि टिकट राखिदिन भनेर आफ्नो काकालाई तत्कालिन अञ्चलाधिशसम्मको फोन आउने गरेको पनि उनले सुनाए । गणेश लाठ भन्छन्, ‘त्यतिबेला फिल्म हेर्नका लागि पास पाउनु र अहिले राष्ट्रपतिबाट सम्मान पाउनु बराबर हो ।’ आफ्नै काकाको हल भएपछि आफुलाई फिल्म हेर्नका लागि सहज मात्रै नभएर चलचित्रप्रतिको रुची पनि बढ्दै गएको लाठ बताउँछन् । उनी भन्छन्, ‘यहाँका हलहरु कम्तीमा एक हप्तासम्म पनि हाउसफुल हुन्थे । कम्तीमा एक महिनासम्म त फिल्म चल्थ्यो, त्यस्तो अवस्थामा वीरगञ्जमा यस्ता युवाहरुको जमात थियो, जसलाइ फस्ट डे, फस्ट शो नहेरी खाना पच्दैन्थ्यो ।’
चलचित्र हेर्नकै लागि चाँडै खाना पकाएर परिवार नै फिल्म हेर्न जान्थे । हजुरआमा मुखमा लामो पछ्यौरा ओढेर फिल्म हेर्दा लाठलाई अचम्म लाग्थ्यो । अहिले आएर उनले थाहा पाए की महिलाहरुले मुख देखाउनु हुँदैन, पछ्यौराले छोप्नुपर्छ भन्ने सोचका कारण त्यस्तो भएको रहेछ भनेर ।
टिकट कटाउन पनि युद्ध जितेको जस्तै हुने त्यो समय र टिकट काट्न कोही आउँछन् अनि फिल्म चलाउँला भन्दै हल व्यवसायी कुर्नुपर्ने अहिलेको समयबीचमा चलचित्र क्षेत्रमा धेरै उतारचढाव आए । करिब चार वर्षजति विद्या चलचित्र मन्दिर राम्रैसँग चलेपछि वीरगञ्जमै अप्सरा टाकिज सुरु भयो । विद्या चलचित्रभन्दा सुन्दर एवम् व्यवस्थित ढंगले सञ्चालनमा आएसँगै यहाँका युवाहरुको समूह विद्यालाई छोडेर अप्सरामा जान थाले । त्यतिबेला रक्सौलमा कृष्ण टाकिज थियो । त्यसपछि एकदम व्यवस्थित ढंगले पंकज टाकिज हुँदै सौरी टाकिज खुल्यो । पंकज टाकिज हेर्दा पनि राजमहल जस्तै लाग्ने किसिमले अत्यन्तै सुन्दर अनि मनमोहक तरिकाले बनाइएको हुँदा त्यसको सुन्दरताले नै दर्शकलाई तान्ने गरेको लाठको भनाई छ । उनकाअनुसार भारतको रक्सौलमा हल भएपनि त्याहाँ नेपाली दर्शककै भिड हुन्थ्यो ।
फिल्मसँगै नायक र नायिकाको तस्बिरसहितको म्यागजीन किन्ने र हेर्ने क्रेज पनि गजबको थियो । ‘मायापुल’ नामक म्यागजीन २ रुपैयाँमा किनेर पढ्ने र हिरोहिरोइनको फोटो हेर्ने रमाईलो क्षणलाई स्मरण गर्दै लाठ आफ्नो बाल्यकालमा फर्किए, ‘हामीलाई लाग्थ्यो, बम्बई भन्ने ठाउँ छ, जहाँ सबै हिरो हिरोइनहरु बस्छन्, फिल्मको हलदेखि बम्बईसम्म सुरुङ् छ, त्यही सुरुङ्बाट फिल्म हलमा आउँछन् होला ।’ साथै पर्दाभित्र कसरी त्यति ठूला भवन, कार, हिरोहिरोइन अटाएका होलान् भन्ने कौतुहलता जाग्ने गरेको कुरालाई सम्झिएर लाठ खित्का छोडेर हाँसे । हलबाट बाहिर निस्किएपछि चलचित्रका विभिन्न पात्रहरुको अभिनय गर्ने, नक्कल गर्नेदेखि लिएर विद्यालयका विभिन्न कार्यक्रममासमेत ति प्रदर्शन गर्ने समय अब कहिलै फर्किएर नआउने उनले भने ।
लाठ अहिले ५८ वर्षका भए, उनी १० वर्षको हुँदा ‘सोले’ फिल्म नेपालमा चलेको थियो । सोले फिल्मका नायक धर्म सिंह देवल (धर्मेन्द्र) ले कुनै प्रसँगमा नेपालीको आत्मसम्मानमा ठेस पुग्ने कुरा बोलेको हुँदा उनका फिल्म नेपालमा नचलाउनका लागि तत्कालिन राजा महेन्द्रले आदेश जारी गरेका थिए । सोही आदेशकै कारण नेपालमा उक्त फिल्म करिब १ महिनापछि चलाइएको लाठ बताउँछन् । फिल्म नचलेपनि २५ देखि ३० रुपैयाँसम्ममा अडियो क्यासेट किनेर डायलग (संवाद) कन्ठस्त बनाउँदै स्कुलमा रेहसल गर्ने गरेको उनको भनाई छ । ‘तेरा क्या होगा कालिया ?’ भन्दै उनले डायलग पनि सुनाउन भ्याईहाले ।
लाठका अनुसार धर्मेन्द्रसँग नेपाल सरकारको सम्बन्धमा केही खटपट भएपनि धर्मदेव आनन्द (देव आनन्द)सँग भने सुमधुर सम्बन्ध थियो । उनी भन्छन्, ‘देवानन्द र नेपाल सरकारबीच भने गजबको सम्बन्ध थियो, महेन्द्र राजादेखि बिरेन्द्र राजाले पनि उनलाई खुब मान्थे । बिरेन्द्र राजाको राज्यअभिशेषमा त देवानन्द आफै आएर उपहारसमेत दिएका थिए ।’ देवानन्दका प्राय फिल्मको छायांकन नेपालमै हुने गरेको थियो । विश्वकै सर्वाेच्च शिखर सगरमाथामा उहीलै देवानन्दले छायांकन गरेर आफ्नो चलचित्रमार्फत नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनको भनाई छ ।
वीरगञ्जदेखि रक्सौल हुँदै काठमाण्डौको रञ्जना हलमा पनि फिल्म हेरेको सम्झिदै भने, ‘काठमाण्डौको रञ्जना हलमा पनि लामखुट्टे र उडुसको बीचमा मुसा दौडीँदै गर्दा फिल्म हेरियो । त्यस्तो अवस्थामा पनि हामी लामखुट्टे र उडुसले टोकेको भन्दा पनि फिल्मको कुनै पनि पल नछुटोस् भन्नेमा सचेत हुन्थ्यौ । विभिन्न समयमा चकटी र चटाईमै बसेर पनि घुम्ती सिनेमा हलमा फिल्म हेरिन्थ्यो ।’
‘जय सन्तोषी माँ भन्ने फिल्म ३ महिनासम्म निरन्तर चलेको थियो, धर्मेन्द्र र देवानन्दको फिल्म पनि एक देखि डेढ महिनासम्म चल्थे । एकदेखि २ हप्तासम्म हाउसफुल हुन्थ्यो’, लाठले भने ।
त्यही बीचमा वीरगञ्जमा पनि सत्य हल, दुर्गा हल, बैष्णोवी हल, बजरंग हल खुले । त्यतिबेलाको विद्या चलचित्र मन्दिर नै अहिले श्रीराम हलको रुपमा सञ्चालनमा छ । करिब तीन दशक अघि स्वर्गीय रामदेव प्रसाद कलवारले किनेर श्रीराम हलको रुपमा सञ्चालन गरे । यस चलचित्रमा अहिले भोजपुरी फिल्म चल्छन् । उनका नाती सुर्यांश कलवारले अहिले श्रीराम हल चलाउँदै आएका छन् ।
सत्य, दुर्गा, बैष्णोवी लगायतका हल बन्द अवस्थामा छन् भने अहिले वीरगञ्जमा त्रिमुर्ती सिनेमा हल, श्रीराम हल, बजरंग हल र ए म्याक्स सिनेमा हल जसोतसो चलायमान छन् । ‘बिस्तारै चलचित्र हल घरमै पुग्न थाल्यो । टिभी फालाफाल हुन थाल्यो, भिडियो क्यासेट भाडामा ल्याएर घरमा हेर्न थालीयो, जसले गर्दा मान्छेहरु चलचित्र हेर्नकै लागि हलसम्म पुग्न छोडे’ लाठले थपे, ‘अहिलेको समयमा हल जाने भनेको मनोरञ्जन लिन हो, आरामदायी तरिकाले मन भुलाउनका लागि हो, त्यसैले हल व्यवसायीले त्यही अनुसारको सेवा सुविधा दिन सक्नुपर्छ ।’
काठमाण्डौ बाहेक मोफसलका हलहरुले खासै सुविधासम्पन्न एवम् व्यवस्थित हल बनाउन नसक्दा हलहरु चल्न छोडेकोमा चलचित्र ‘मेला’ का निर्माता एवम् होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त चिन्तित छन् । उनी भन्छन्, ‘वीरगञ्जमा भोजपुरी र हिन्दी भाषीको बाहुल्यता छ । जसले गर्दा यहाँ नेपाली फिल्म चल्दैनन् । यद्यपी पछिल्लो समयमा नेपाली चलचित्रले विदेशमा ठाउँ खोज्दै गर्दा आफ्नै देशको मधेशमा नेपाली चलचित्रको बजारीकरण गर्न वा यस समुदायलाई अपनत्व हुने खालका सिनेमा नै निर्माण भएनन् कि भनेर गम्भिर हुने बेला आएको छ ।’
विगतलाई हेर्ने हो भने अधिकांश नेपाली फिल्म पनि भारतीय चलचित्रकै कथा चोरेर बनाउने गरेको हुँदा बरु त्यही कथालाई आफुले बुझ्ने अनि धेरै लगानी भएको राम्रो क्वालिटीमा किन नहेर्ने भन्ने मानसिकता पनि हाबी हुनुलाई पन्त स्वभाविक लिन्छन् । पछिल्लो समयमा नेपालकै मौलिकतालाई चलचित्रमार्फत दर्शाउने प्रयासहरुको सह्राना गर्दै पन्तले सर्वप्रथम स्वदेशमै सबैले अपनत्व लिने खालका विषयवस्तुमा चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले बिस्तारै नेपाली चलचित्रले पनि नेपालकै मौलिकपनलाई समेट्न थालेका छन् । यो सकारात्मक पक्ष हो । हामीले निर्यातको कुरा गर्छाै । तर हामीले आफ्नै देशको कलालाई बेच्न सकेका छैनौ । नेपाली कलामा आफ्नै मौलिकता छ । त्यही मौलिकता देखाएर नै हामीले आफ्नो देशको पर्यटन प्रबद्र्धन गर्न सक्छौं ।’
भविष्यमा चलचित्र हलको अस्तित्व नै सकिने अवस्थाको आँकलन गर्दै उनले चलायमान बनाउनका लागि चलचित्रलाई माया गरेर चलचित्रकर्मीहरुको हौसला बढाउन आग्रह गरे । साथै उनले चलचित्र हेर्दा सबैले आफ्नै कथा जस्तो आभाष गर्ने गरी विषयवस्तुमा बनाउनुपर्ने बताए । उनले भने, ‘कुनै पनि किताब पढ्दा वा फिल्म हेर्दा आफ्नै बिम्ब भएन, वा आफुलाई आफ्नै कहानी जस्तो लागेन भने त्यसले तान्न सक्दैन ।’
मधेशलाई मजाक बनाएर प्रस्तुत गरिएकोप्रति आपत्ती जनाउनुका साथै मधेशको चरित्रमा यही समुदायका कलाकारलाई राख्नुपर्ने आवश्यक्ता उनी औँल्याउँछन् । ‘नेपाली फिल्महरु चल्दा त्यसमा मधेशले आफुलाई पाएन । तराईमा आउने तर यहाँको अभिनय यहाँको चरित्रलाई देखाउँदा पनि अन्यत्रका मानिसले गर्दा त्यसमा मौलिकता र वास्तविकता झल्किदैन ।’
लबज बिगारेर, मुखमा कालो पोतेर, गम्छाले टाउको बाँधेर अभिनय गराई नेपाली चलचित्र बजारमा तराई मधेशलाई हाँस्यको रुपमा प्रस्तुत गरेर गलत भाष्य निर्माण गरिएकोमा बरिष्ठ कलाकार नन्दु श्रीवास्तवको आपत्ती छ । नेपाली चलचित्र होस् वा सिरियल मधेशलाई एउटा हास्यपात्रको रुपमा प्रस्तुत गरेको भेटिने गरेको बताउँदै उनले यहाँको कलासँस्कृति, रहनसहन, बजार भेषभुषाका थुप्रै कथाहरु समेट्ने प्रयास कही कतैबाट नभएको तर्क गरे । आफुले चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म चलचित्र क्षेत्र निक्कै फड्को मारेको भएपनि मधेशलाई र मधेशी समुदायले अपनत्व गर्ने खालका नेपाली चलचित्र बन्न नसकेको उनले बताए ।
नयाँ नयाँ विषयवस्तु, नयाँ नयाँ लोकेशनहरुको खोजी गर्दै चलचित्र बजार विदेशसम्म पुगिरहँदा नजिकको तिर्थ हेला भने जस्तै मधेशका प्रचुर सम्भावना बोकेका छायांकनस्थल एवम् अभिनयप्रतिको लगावले भरिएका कलाकारलाई चिन्न नसकेको स्वयम चलचित्रकर्मीहरु नै स्विकार गर्छन् ।
चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलकाअनुसार नेपालको झन्डै ५० प्रतिशत जनसंख्या रहेको तराईलाई नजरअन्दाज गरेकै कारण नेपाली चलचित्रको आन्तरिक बजार खुम्चिदै गइरहेको छ । चलचित्रकर्मीदेखि कलाकारहरु फिल्मको प्रमोशनका लागि नारायणघाट, हेटौडा, बुटवल, पोखरा, धरान लगायतका शहरमा गएपनि जनकपुर, बर्दीबास, सर्लाही, वीरगञ्ज लगायत तराई मधेशका कुनै पनि ठाउँमा नजानुले नै मधेशलाई नजरअन्दाज गरेको स्पष्ट हुने अध्यक्ष पौडेलको तर्क छ ।
उनी भन्छीन्, ‘अन्य ठाउँमा कलाकार आफै हलहलमा पुग्ने, दर्शकसँगै फिल्म हेर्ने अनि फिल्म हेरीसकेपछि दर्शकको प्रतिक्रिया पनि बुझ्ने गर्छन् । तर मधेशमा न त चलचित्रको प्रमोशनकै लागि आउँछन्, न त दर्शकसँगै हलमा बसेर फिल्म हेर्नका लागि ।’ मधेशका मानिसहरुको भोगाई र यहाँको यथार्थ नै चलचित्रका मुख्य कथावस्तु भएपनि निर्देशक एवम् निर्माताहरुको नजरमा पर्न नसकेको वा परेपनि मधेशलाई नजरअन्दाज गरेको आभाष भइरहेको उनी बताउँछीन् ।
वीरगञ्जमा सम्पन्न भएको फिल्म फेस्टिवलमा थुप्रै चर्चित कलाकार आएपनि यहाँका दर्शकहरुले नचिन्ने बिडम्बनालाई स्मरण गर्दै उनले त्यसका लागि दर्शकसँग साक्षात्कार गर्नुपर्नेमा जोड दिइन् । मधेशबाट भोजपुरी र हिन्दी फिल्मले लाखौको कारोवार गर्दा नेपाली फिल्म राम्ररी चल्न नसक्नु दुर्भाग्य भएको उनको ठम्याई छ । ऐना झ्यालको पुतली, जारी जस्ता अन्य स्थानमा चर्चा बटुलेपनि मधेशका सिनेमा हलमा हेर्नका लागि पुगेको दर्शकहरु नचलेरै फिर्ता हुनुपर्ने अवस्था रहेको उनले सुनाईन् । ‘म आफै जारी हेर्न भनेर वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा पुगे, तर त्याहाँ जारी नचलेर ए मेरो हजुर ६ चलेको रहेछ, हलमा पुगिसकेपछि किन फर्किनु बरु त्यही भएपनि हेरौ भनेको हल व्यवस्थापकले चार जनाको लागि मात्रै नचलाउने निस्कर्ष सुनाए । पछि २ जनाको टिकट बराबरको पैँसा थपिदिएपछि मात्रै चल्यो ।’
नेपाली चलचित्र कला, संस्कृति, भाषा, साहित्य र विषयसँगै भौगोलिक हिसाबले पनि समावेशी हुनुपर्ने पौडेलको तर्क छ । कथा र विषयवस्तुको भण्डार भएको तराई मधेशका केही सिमित विषयवस्तुमा चलचित्र बनेको स्विकार गर्दै उनले ति विषयवस्तुको पनि गहिराईसम्म पुग्न नसकेकोमा दुःख व्यक्त गरिन् ।
‘तराई मधेशमा नेपाली चलचित्र किन चल्दैन, यत्रो ठूलो जनसँख्या छ, देशको आधा जनसँख्या तराई मधेशमै रहेको छ, तर त्यहाँ नेपाली चलचित्र बजारले आफ्नो ठाउँ बनाउन सकेको छैन किन ? किनभने त्यो चलचित्रमा आफ्नोपन देख्दैनन् । हिन्दी चलचित्र रुचाउनको मुख्य कारण एउटा भाषा हो र अर्को कथावस्तु पनि हो’, चलचित्र निर्माता एवम् सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो थप्छन्, ‘बरु तराई मधेशका दर्शकले हिन्दी, भोजपुरी फिल्ममा आफ्नो कथावस्तु भेटाउँछन् तर नेपाली चलचित्रमा भेट्दैन ।’ मधेश र मधेशवासीका कथाहरु नभनेसम्म नेपालको मधेसले नेपाली चलचित्र आफ्नो नठान्ने उनको जिकिर छ ।
जानेर होस् अथवा नजानेर मधेशीलाई नेपाली चलचित्रले होच्याउने, हेप्ने र हियाउने काम गरिरहेको कलाकार कामेश्वर चौरसियाको धारण छ । मधेशी समुदायभित्र नेपाली भाषा बुझ्ने भन्दा भोजपुरी, हिन्दी मैथली भाषीको संख्या बढी हुनु पनि मधेशमा नेपाली चलचित्र नचल्नुको एउटा कारण मान्न सकिने चौरसिया बताउँछन् । दर्शकको चाहनालाई बुझेर सोही अनुसारको विषयवस्तु पस्किन सक्नु चलचित्र निर्माताको खुबी हो भने त्यही खुबी यहाँका निर्माता एवम् निर्देशकमा नदेखिएको उनले बताए ।
चौरसिया थप्छन्, ‘भारतमा जतिवटा भाषा छन् त्यसको त्यतिवटा फिल्म इन्डस्ट्री छन् । तमिल, तेलगु, बंगाली, मराठी, पञ्जावी, भोजपुरी, मैथिलीलगायत भाषाको आआफ्नै फिल्मी इन्डस्ट्री छ, उसले आफ्नो बजार पहिचान गरिसकेको छ । अहिले साउथ फिल्मले विश्वको बजार लिइरहेको छ । त्यहाँ बन्ने फिल्म साउथमा चल्छ नै, मन पराउँछ नै अन्य ठाउँमा देखाउनका लागि विभिन्न भाषामा डविङ्ग हुन थालेको छ । तर हाम्रो जस्तो सानो बजारमा एउटै भाषाले पनि सही विषयवस्तु पस्किन नसकेको हो वा अन्य कुनै कमीकमजोरी भन्ने आशंका पनि उत्पन्न भएको छ ।’ साउथ फिल्म हिन्दी, मराठी, भोजपुरीलगायतको भाषामा डविङ् हुन थालेपनि नेपालमा एउटा मात्र भाषा नेपालीमा समेत सबैलाई समेट्न नसकेको चौरसियाले बताए ।