×

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले वीरगञ्ज महानगरपालिकाका दुई जना पूर्व जनप्रतिनिधिसहित ८ जनाविरुद्ध सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कागजात सच्याई गलत लिखत तयार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका  वडा नम्बर २ का पूर्व वडाअध्यक्ष शेष अब्बास र वडा नम्बर १५ का पूर्व वडाअध्यक्ष गजेन्द्रप्रसाद कुर्मीसहित आठजनाविरुद्ध अख्तियारले सर्वोच्च अदालातमा मुद्दा दायर गरेको हो ।

अब्बास तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए भने कुर्मी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

अब्बास र कुर्मीसहित पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेल, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन नायव सुब्बा चन्द्रदेव ठाकुर र तत्कालीन प्रशासकीय अधिकृत सदनकुमार कर्ण, वीरगञ्ज महानगरपालिका–२ का अरिफ हुसेन, सबरुन खातुन, वडा नम्बर १५ का ममता कुमारी गुप्ताविरुद्ध पनि अख्तियारले सर्वोच्चमा मुदा दायर गरेको छ ।

उनीहरुमाथि कागजात सच्याइ गलत लिखत तयार पारेर नेपाली नागरिकता दिएको आरोप लगाउँदै अख्तियारले यसअघिनै विशेष अदालतमा मुद्दा दायर गराएको थियो । यद्यपि तर गतवर्ष चैत १७ गते आठै जनाले विशेष अदालतबाट सफाइ पाएका थिए ।

तर, विशेष अदालतको फैसलामाथि चित नबुझेको भन्दै बुधबार उनीहरुमाथि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Back to top