×

फाइल तस्विर ।

वीरगञ्ज । अर्को महिना जिम्बाबेमा हुने विश्वकप क्रिकेटको छनौट खेल्ने नेपाली टोलि घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार घोषणा गरेको १६ सदस्यीय टोलीमा विकेट किपर अर्जुन साउद फर्किएका छन् ।

पूर्व कप्तानहरु सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले पनि टोलिमा नियमित स्थान बनाएका छन् । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, भीम सार्की, प्रतिस जिसी, ललितिनारायण राजवंशी र किशोर महतो रहेका छन् ।

नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्नेछ । उद्घाटन खेल असार ३ गते हुने भएको छ। उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपाल भिड्ने भएका छन् । उद्घाटनको दिन दुई खेल रहेको छ ।

नेपालले दोस्रो खेलमा असार ५ गते अमेरिकासँग र तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ गते खेल्ने तालिका रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्याण्डससँग खेल्नेछ ।

जिम्बावेविरुद्ध असार ३ गते हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल पनि हुनेछ । विश्वकप छनौटमा दश राष्ट्रको सहभागीता रहने छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन्। समूह बी मा श्रीलंका,आयरल्यान्ड,स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन्। आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

Back to top