×

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार (मे २८) मा त्यहाँको संघीय राजधानी नयाँदिल्लीमा नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।

भारतको केन्द्रीय प्रशासनिक क्षेत्रको पुनर्निर्माण गर्ने महत्त्वाकांक्षी परियोजना ‘सेन्ट्रल भिस्टा’को एक हिस्सा रहेको नयाँ संसद् भवन टाटा समूहको कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले दुई वर्षको अवधिमा निर्माण गरेको हो ।

नयाँ संसद् भवनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले लोकसभा कक्षमा सभामुखको आसनपछाडि ‘सेंगोल’ स्थापना गरे । सेंगोललाई स्वतन्त्रताको महत्त्वपूर्ण ऐतिहासिक प्रतीक मानिन्छ । यसलाई बेलायतीबाट भारतीयलाई शक्ति हस्तान्तरण गरेको संकेत समेत मानिन्छ ।

स्थानीय समयानुसार बिहान साढे ७ बजे नयाँ संसद् भवन पुगेका मोदीले पूजा र सेंगोल स्थापना गरी निर्माणमा संलग्न मजदुरलाई अभिनन्दन गरेका थिए । पूजाका क्रममा सबै धर्मका प्रतिनिधिबाट प्रार्थना समेत गरिएको थियो ।

भारतको पुरानो संसद् भवन सन् १९२७ मा बनाइएको थियो । त्यसबाट अहिलेका विभिन्न आवश्यकता पूरा गर्न नसकिने बताइएको छ ।

नयाँ संसद् भवनमा लोकसभा कक्षमा ८८८ र राज्यसभा कक्षमा ३०० सदस्य बस्न सक्नेछन् । दुवै सदनको संयुक्त बैठकका लागि लोकसभा कक्षमा एक हजार २८० सांसद अटाउन सक्छन् ।

नयाँ संसद् भवनमा महाराष्ट्रको नागपुरबाट सागौनका काठ, राजस्थानको सरमाथुराबाट रातो र सेतो बलौटे ढुंगा, उत्तर प्रदेशको मिर्जापुरीको गलैँचा, त्रिपुराको बाँसको फर्शलगायत स्थानीय सामग्री प्रयोग गरिएको छ ।

नयाँ संसद् भवनले भारतको विविध संस्कृति झल्काउँछ । भारत सरकारले यो ऐतिहासिक दिनको सम्झनामा ७५ रुपैयाँको सिक्का पनि सार्वजनिक गरेको छ ।

Back to top