×

तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय पर्सा ।

वीरगञ्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा अनलाइन सट्टाबाजी गरेको आरोपमा पर्सा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार सम्पन्न आइपीएलको मुम्बई इन्डियन र लखनउ सुपर जाइन्ट्स विच भएको सेमी फाइनल खेलमा अनलाईन सट्टाबाजी गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ वर्षीय मुन्ना भनिने धर्नामाथप्रसाद जयसवाललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जारी गरेको प्रेस नोटअनुआर प्रहरीले वीरगञ्ज महानगरपालिका – १५ स्थित सञ्जय श्रीवास्तवको घरमा आइपीएल खेलको अनलाइन सट्टाबाजी चलिरहेको विशेष सूचना प्राप्त गरेको थियो ।

सूचनामाथि कारवाही गर्दै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले श्रीवास्तवको तिन तल्ले घरको कानूनी रीत पुर्‍याई खानतलासी गर्दा यादवद्वय, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरी नियन्त्रणमा लिएको प्रेस नोटमा उल्लेख छ । 

डिएसपी गिरीकाअनुसार प्रहरीले उनीहरुको साथबाट ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ बरामद गरेको छ भने अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनिको मोबाईल, ल्यापटप र टेलीभिजन सेट पनि जफत गरेको छ । पक्राउ परेकाहरुमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रत्येक वर्ष आइपीएल र अन्य क्रिकेट खेलका क्रममा वीरगञ्जमा दैनिक लाखौँको सट्टाबाजी हुनेगरेको छ । पछिल्लो समय युवाहरुपनि अनलाइन सट्टाबाजीमा होमिन थालेका छन् । वनएक्स बेट भन्ने एप मार्फत युवाहरुले पनि क्रिकेट र अन्य खेलमा अनलाईन सट्टाबाजी मार्फत पैसा लगाउने गरेको पाइएको छ ।

अनलाइन सट्टाबाजीको जन्जाल ठूलो भएपनि नियन्त्रण गर्न प्रहरी, प्रशासन र सम्बन्धित निकाय मौन देखिएको छ । अनलाइन सट्टाबाजी प्रहरीकै संरक्षणमा हुनेसमेत समयसमयमा आरोप लाग्दै आएको छ ।

Back to top