×

वीरगञ्ज । नेकपा एमालेले मधेश प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेको विरोधपछि बिहीबार बसेको संसद् बैठक अवरुद्ध भएको हो ।

बुधबार संसद्मा उठाएका विभिन्न विषयमा मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले बैठक अवरुद्ध पारेको हो । एमालेको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन् ।

एमाले तथा सत्तारुरढ दलकै सांसद्हरु प्रदेश सरकारले स्थानीय तहलाई पठाएको शसर्त बजेट वितरणमा कमिसन र चलखेल भएको भन्दै प्रदेशसभामा आलोचना गर्दै आएका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा सांसद्हरूले सरकारले कमिशन लिएर शसर्त अनुदानको योजना वितरण गरेको आरोप लगाएका थिए । एमाले संसदीय दलका नेता सरोजकुमार यादवले शसर्त अनुदान वितरणमा सरकारले मनपरी गरेको आरोप लगाए ।

‘एउटै निर्वाचन क्षेत्रको एउटा पालिकामा अनुदान गएको छ, अर्कोमा गएको छैन,’ उनले भने, ‘किन गएको छैन?’ कमिशन नदिएको पालिकामा सरकारले शसर्त अनुदानको रकम नपठाएको उनले आरोप लगाए । उनले उक्त विषयमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

कुन व्यक्तिमार्फत कुन खातामा शसर्त अनुदानको बजेट गएको भन्दै पारदर्शी गर्नुपर्ने उनको माग छ । चालू आर्थिक वर्षमै एमाले जनप्रतिनिधिहरूले काम गरेको भुक्तानी रोक्न सत्तापक्षको सांसदहरूले प्रयास गरिरहेको उनको दाबी छ ।

त्यस्तै, माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले खबरदारी गर्दै सरकारको आलोचना गरे । शसर्त अनुदान वितरणमा लापरबाही भएको भन्दै छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने साहको माग छ । योजना वितरणमा हाकाहाकी कमिशन माग्ने गरेको उनको आरोप छ ।

‘हाकाहाकी १० प्रतिशत कमिशन लिएर योजना वितरण भइरहेको छ,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा अरु सांसद्ले योजना ल्याएर कमिशनमा बाँडिरहेको छ । बाराको उपनिर्वाचनमा भएको खर्च निकाल्न लाग्नुभएको हो कि क्या हो ?’

Back to top