×

वीरगञ्ज । चेन्नाई सुपर किंग्स, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबारराति भएको पहिलो क्वालिफायर खेलमा रविन्द्र जडेजाले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाईले डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

चारपल्टको च्याम्पियन चेन्नाईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ७२ रन बनाएको थियो । त्यसमा ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । चेन्नाईका बलरले त्यसलाई रक्षा गर्ने क्रममा गुजरातलाई १ सय ५७ रनमा रोकेको थियो । सुरुमा २२ रन बनाएका जडेजाले पछि १८ रनमा दुई विकेट लिए ।

महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नाई प्रतियोगिताको  फाइनल पुगेको यो दसौंपल्ट हो । हारका बावजुत गुजरातसामु फाइनल प्रवेशको एक अर्को अवसर हुनेछ । बुधबार इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसमा विजयी हुने टिमले अर्को खेलमा गुजरातको सामना गर्नेछ ।

Back to top