×

वीरगञ्ज । सिर्सिया नदिको प्रदुषण मुक्त गराउन वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाललाई ध्यानाकर्षण गराएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार मन्त्री रिजालसँग भेटघाट गर्दै सिर्सिया नदिलाई स्वच्छ र सफा बनाउन दीर्घकालिन व्यवस्था गर्न माग गरेको हो । 

मन्त्री रिजालकै निम्तोमा मन्त्रालय पुगेको टोलीले वीरगञ्ज पथलैयालाई औपचारिक रुपमै औद्योगिक कोरिडोर घोषणा गर्न पनि माग गरेको छ । लामो समयदेखि अघोषित कोरिडोरका रुपमा रहेको क्षेत्रलाई घोषणा गरेर औद्योगिक कोरिडोरको रुपमा विकास गर्न आग्रह गरिएको संघका अध्यक्ष अग्रवालले बताए । उद्योगहरुले रोजगार सृजनादेखि देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु-याउँदै  आएको हुँदा उद्योगहरुसँग सम्पती कर लिन नहुने सुझाव दिइएको छ । 

सिमरामा निर्मित सेजमा भाडादर घटाउन, सेज बाहेकको जग्गा उद्योग स्थापनाका लागि उपलब्ध गराउन लगायतका विषयमा मन्त्री रिजालको ध्यानाकर्षण गराइएको अध्यक्ष अग्रवालको भनाई छ । सिमेन्ट उद्योगमा प्रयोग हुने फलायस (औद्योगिक कच्चा पदार्थ) नेपालमा २५ प्रतिशत मात्रै प्रयोग गर्न पाइने मापदण्ड भएकोप्रति आपत्ती जनाउँदै संघले अन्तर्राष्ट्रिय मापदण्डबमोजिम ३५ प्रतिशतसम्म प्रयोग गर्न पाइने व्यवस्था गर्न माग गरिएको छ । साथै फलायसको आयातमा एक हजार रुपैयाँ प्रति मेट्रिक टनका दरले भन्सारमा तिर्नुपर्ने शूल्कलाई एक सयमा झार्न पनि माग गरिएको अध्यक्ष अग्रवालले बताए । यसले गर्दा उद्योग चलायमान हुने उनको विश्वास छ । 

अध्यक्ष अग्रवालकाअनुसार उद्योग मन्त्री रिजालले सबै विषयमा सकारात्मक प्रतिक्रिया दिँदै सिर्सिया नदिको स्थलगत अनुगमनका लागि केही समयमै मन्त्रालयबाट टोली पठाएर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी काम थाल्ने आश्वासन दिएका छन् । 

गृहमन्त्रीलाई वीरगञ्ज आउन निम्तो
वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीले आइतवार नै गृहमन्त्री नारायण काजी श्रेष्ठसँग पनि भेटघाट गरेको छ । खुला सीमा नाकाका कारण उद्योगी व्यवसायीहरुलाई चुनौती भएको उल्लेख गर्दै संघका अध्यक्ष अग्रवालले गृहमन्त्री श्रेष्ठलाई औद्योगिक सुरक्षा बलको पुर्नव्यवस्था गर्न आग्रह गरेका छन् । 

साथै भन्सार तथा सीमाना क्षेत्रमा चेकजाँचलाई कडाई गर्न आग्रह गर्दै सरल र सहज सुरक्षा व्यवस्था मिलाउनुपर्ने संघको माग छ । ओसारपसार हुने स्थानमा सुरक्षा निकायले जाँचेर राजशव अनुसन्धानमा बुझाउने प्रवृतिले उद्योगीहरु त्रासमा रहेको उनले बताए । भन्सार विभागका महानिर्देशककाअनुसार सुरक्षाकर्मीलाई भन्सार पास भइसकेको सामग्रीसहितको सवारी नियन्त्रणमा लिने कुनै अधिकार छैन । अविश्वासको अवस्था सृजना भएको हुँदा ढुक्कसँग व्यवसाय गर्ने वातावरण निर्माणका लागि पहल गरिदिन संघले गृहमन्त्रीलाई सचेत गराएको छ । साथै संघको टोलीले गृहमन्त्री श्रेष्ठलाई वीरगञ्ज घुम्न निम्तो दिएको संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले जानकारी दिए । उनकाअनुसार केही समयमै गृहमन्त्री वीरगञ्ज आउनेछन् । 

विद्युतीय समस्या अन्त्य गर्ने आश्वासन
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उद्योगहरुमा हुने विद्युतीय समस्या समाधान गर्ने आश्वासन दिएका छन् । उद्योग र गृहमन्त्रीसँगै ऊर्जा मन्त्री बस्नेतसँगको भेटघाटका क्रममा वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीलाई मन्त्री बस्नेतले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्सँग आवश्यक समन्वय तथा छलफल गरी दीर्घकालिन समाधानको बाटो खोज्ने आश्वासन दिएका छन् । 

उद्योगहरुमा हुने विद्युत अनियमितताले उद्योगहरु धरासायी हुने अवस्था आएको संघका उपाध्यक्ष माधब राजपालले बताए । विद्युतको अनियमित आपूर्तिले उत्पादनमा समस्या हुनुका साथै सामग्रीमा पनि समस्या हुने गरेको उपाध्यक्ष राजपालको भनाई छ । उनले निश्चित समय तोकेर आपुर्ती रोकेमा बरु उद्योगीहरुले सोहीअनुसारको व्यवस्था गर्ने बताउँदै विद्युत ट्रिपिङ्को समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण गराए । 

अध्यक्ष अनिल कुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलमा बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपालसँगै कोषाध्यक्ष शिबजी कलवार सहभागी थिए । 
 

Back to top