×

वीरगञ्ज । नेपाली उद्यमी व्यापारीहरूको सबैभन्दा ठूलो र बढी सञ्जाल भएको संस्था नेपाल उद्योग वाणिज्य महासंघ महाधिवेशनको संघारमा छ । २०७७ मंसीर ११ देखि १४ गतेसम्म सम्पन्न वार्षिक साधारण सभा एवम् निर्वाचनबाट निर्वाचित कार्यसमितिको २ वर्ष ४ महिनाको कार्यकाल सकिन लागेको छ । महासंघको निर्वाचन समितिले निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेसँगै उम्मेदवारका आकांक्षीहरुले गतिविधि बढाएका छन् । 

यसअघिको निर्वाचनमा पर्सा जिल्लाबाट बस्तुगततर्फ केन्द्रीय कार्यकारिणी सदस्यको रुपमा निर्वाचित डा. सुवोध कुमार गुप्ता फेरी पनि सोही पदका आकांक्षी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका डा. गुप्ता अझै एक कार्यकालसम्म कार्यकारिणी सदस्यकै रुपमा काम गर्ने इच्छा प्रकट गरेका छन् । डा. गुप्ता भन्छन्, ‘साथीहरूको सद्भाव र सहयोगबाटै यसअघि निर्वाचित भए, महासंघमा चुनिएपछि बैंक तथा इन्स्योरेन्स समितिको सहसंयोजक भएर काम गर्ने अवसर पाएँ । अब फेरी पनि दोहोरिएर उद्योग र उद्योगीको क्षेत्रमा काम गर्ने चाहना छ ।’
उनी नेपाल चामल दाल तेल उद्योग संघका पनि केन्द्रीय अध्यक्ष हुन् । यस संस्थामार्फत उनी खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउनेमा जोड दिँदै आएका छन् । उद्यम र व्यापारसँगै सामाजिक कार्यमा पनि उनको उत्तिकै सक्रियता देखिन्छ । 

कोरोना महामारीको कहरको बीचमा पनि वीरगञ्ज उद्योग वाणिज्य संघलाई सफल नेतृत्व दिन सकेको र सर्वसहमतीमै नयाँ कार्यसमिति चयन गरेकोमा आत्मसन्तुष्टि मिलेको उनी सुनाउँछन् । विवादरहित कार्यकालसँगै धेरै लामो समयपछि बिना निर्वाचन सर्वसहमतीमै नयाँ पदाधिकारी र कार्यसमिति चयन गर्नुलाई यहाँका उद्योगी व्यवसायीले पनि ठूलो उपलब्धीका रुपमा लिएका छन् । आफ्नो मात्रै नभएर संघमा आवद्ध पदाधिकारी, कार्यसमिति सदस्यदेखि कर्मचारीहरु सबैलाई यसको श्रेय जाने डा. गुप्ताको भनाई छ । 

‘वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण भइसकेको छ । नयाँ नेतृत्व आउनुभएको छ । म अब महासंघमार्फत निजीक्षेत्रका सरोकार र समग्र आर्थिक समृद्धिको अभियानलाई अघि बढाउने कार्यमा योगदान दिन चाहन्छु । यस पटक मैले बस्तुगततर्फबाटै निजीक्षेत्रमा सरोकार उठाउन केन्द्रीय कार्यकारिणी सदस्यका लागि आफूलाई अघि सारेको छु’, उनले भने । 

गुप्ताको कार्यकालमा वीउवासंघले गरेका काम
कोभिड १९ को तेस्रो लहरबाट बालबालिका बढी प्रभावित हुने प्रक्षेपण थियो । तर, वीरगञ्जमा बालबालिकाका लागि आईसीयु नै थिएन । त्यही परिस्थितीलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा ३० शय्याको पीआईसीयु बनाएर संघले हस्तान्तरण ग¥यो । अस्पतालमा अक्सिजन प्लान्टदेखि कोरोना परीक्षणको लागि आवश्यक उपकरणको प्रबन्धमा पनि संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको गुप्ता बताउँछन् । 

उनी भन्छन्, ‘कोरोना महामारीमा संक्रमण भित्रिन नदिने उद्देश्यले सिमानामा होल्डिङ सेन्टरको निर्माण, शंकराचार्य गेटमा सुरक्षा तथा स्वास्थ्यकर्मीको अस्थायी पोष्ट निर्माण गरियो । त्यस्ता स्थानमा औषधि, प्राथमिक उपचारलगायतका धेरै प्रकारका सहयोग ग¥यौं । कोभिड नियन्त्रणका लागि खोप र उपचारका अन्य व्यवस्थापनका काम भयो ।’ डा. गुप्ताकाअनुसार पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरियास्थित अस्पतालमा अपरेशन थिएटर नभएको थाहा पाएपछि आईसीयु २० शय्यासहित अपरेशन थिएटर तयारी गरेर सञ्चालनमा ल्याइएको छ । यसबाट त्यस भेगका बासिन्दाको स्वास्थ्योपचारमा सहज भएको पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन बताउँछिन् ।

‘सेफर वीरगञ्ज सीसीटीभी’ सञ्जालअन्तर्गत ८५ ओटा सीसीटीभी जडानको काम पनि भएको छ । त्यसको मोनिटरिङका लागि ३२ लाख रुपैयाँको लागतमा जिल्ला प्रहरी कार्यालयमा सिस्टम राखिएको छ । औद्योगिक सुरक्षा बल पुनःस्थापनाको माग निरन्तर उठाउँदै आएपनि अहिलेसम्म सुनुवाई हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । यद्यपी मागको सम्बोधन हुनेमा उनी आशावादी छन् । 

नेपाल राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जा मार्गदर्शन र बैंकहरूले बढाएको ब्याजदर मूल समस्याको रूपमा देखिएको हुँदा यसको विरुद्ध निरन्तर आन्दोलन र खबरदारी गर्न पनि संघ पछि नपरेको उनको जिकिर छ । मौद्रिक नीतिमा गभर्नरसँग आमनेसामने कुरा गर्नेदेखि यी समस्यासँगै स्थानीय औद्योगिक कोरिडोर, भन्सार, राजस्व, कर, सुरक्षा, कृषि, अवैध आयात, सीमाक्षेत्रमा भारतीय मुद्राको समस्यालगायत विषयमा सरोकारका निकायको ध्यानाकर्षण गराएर समाधानका लागि आग्रह पनि गरिएको गुप्ताले बताए । 

उनी भन्छन्, ‘हामीकहाँ माटो सुहाउँदो उद्योग नीति नै भएन । भन्सारमा सन्दर्भ मूल्य कायम हुँदा हुण्डी कारोबार बढेको छ । त्यस्तै पारवहन, सुक्खा बन्दरगाह, आईसीपी, डस्टी कार्गो, औद्योगिक क्षेत्रमा भइरहेको विद्युत् कटौतीलगायत समस्याको समाधानका लागि सरोकारका मन्त्रालय, विभाग, कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुग्ने काम भएको छ । केही समस्याले निकास पाएका छन् । केही समाधानको क्रममा छन् । कतिपय विषयको समाधानमा सरकार सोचेजति उदार हुन सकेको छैन । निजीक्षेत्रले उठाएका समस्याको समाधानमा सरकार सकारात्मक नभएसम्म आर्थिक विकास र समृद्धि सहज हुँदैन ।’

भगिनी सम्बन्ध विस्तार
वीरगञ्ज उद्योग वाणिज्य संघले गुप्ताकै कार्यकालमा काभ्रे, मकवानपुर, धुलिखेल र ललितपुरका उद्योग वाणिज्य संघहरूसँग भगिनी सम्बन्ध स्थापित गर्न सफल भयो । स्वदेशीसँगै अन्तरराष्ट्रिय स्तरमा सिंगापुर र भियतनामका उद्योग वाणिज्य संघसँग पनि संघले सम्बन्ध विस्तार गरेको छ । गुप्ताले भने, ‘विश्वकै अगाडि नमूना विकास गरेर देखाएको सिंगापुरको समृद्धि वास्तवमै लोभ लाग्दो त छ नै, भियतनामले छोटो समयमै आर्थिक विकासका लागि अपनाएका उपाय हाम्रा लागि पनि सान्दर्भिक बन्न सक्ने सोचका साथ त्याहाँका संघसँग सम्बन्ध विस्तार गरेका हौँ ।’ 

सिंगापुर र भियतनाम भ्रमणका क्रममा त्यहाँ सम्भावनाको उपयोग, सीप र प्रविधिमा सहकार्यका लागि भगिनी सम्बन्ध कायम गरिएको उनको दावी छ । यो वीरगञ्ज उद्योग वाणिज्य संघको इतिहासमै पहिलोपटक भएको हो । ती देशमा भएका विकासका अभ्यासको अध्ययन, अनुसरणसँगै त्यहाँबाट प्रविधि र लगानी भित्र्याउन पहल गर्ने निर्णय संघले गरेको उनले जानकारी दिए । 

भ्रमणको क्रममा त्यहाँका उद्योग र व्यापार संघहरूसँग समझदारी भएको छ । उक्त समझदारीपत्रमा प्रविधि सहज रूपमा उपलब्ध गराउने, औद्योगिक मेला, सेमिनारहरूमा सहकार्य र सहभागिता बढाउनेजस्ता विषय छन् । उनीहरूले नेपालको जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा लगानीको चासो देखाएका छन् । यो आपसी सम्बन्ध र भोलिका दिन उद्योग र व्यापार प्रवर्द्धनका साथै लगानी आकर्षणको अभिप्रायले कोसेढुंगा नै सावित हुने गुप्ताको विश्वास छ । 

अवसरको क्षेत्र उपेक्षामा 
पर्सा बारा औद्योगिक क्षेत्र अवसरले भरिएको क्षेत्र हो । भौगोलिक रूपमा देशको केन्द्र भागमा रहेको छ । कच्चापदार्थको आपूर्ति र तयारी वस्तुको ढुवानी पनि सजिलो छ । त्यसैकारण आईसीडी र आईसीपी पनि यहीँ निर्माण गरिएको हो । मुख्य नाका भएकाले यो गोदाम व्यवस्थापनका लागि पनि लगानीको अवसर भएको क्षेत्र हो । सरकारले यसमा सहजीकरण गर्नुपर्दछ । तर, यो क्षेत्रमा सरकारको विशेष ध्यान छैन । आफ्नै हिसाबले जसोतसो बढेको छ । यसलाई गति दिने सरकारको नीति भएन । 

निजीक्षेत्र, सरकार र कर्मचारीतन्त्रको तानातानले समस्या भएको छ । यसको समाधान आवश्यक छ । कोरिडोर व्यवस्थित हुनुपर्दछ । उद्योगमा पानी प्रशोधन र निकासको समस्या छ । स्थानीय सरकारबाट हुने समस्या बेग्लै छन् । पर्साको ठोरी–पोखरिया क्षेत्रमा औद्योगिक क्षेत्र चाहियो भनेर हरेक ठाउँमा कुरा उठाएपनि बेवास्ता हुँदै आएको छ । वीरगञ्जलाई आर्थिक राजधानी र बारा पर्सालाई औद्योगिक कोरिडो घोषणा गर्न माग उठाउँदा पनि सरकारले उपेक्षा गर्दै आएको छ । साना उद्योग र उद्योगीका बेग्लै समस्या छन् । ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने यस्ता उद्योगलाई १ लाख रुपैयाँ लिएर अरू प्रक्रियाको झन्झटबाट मुक्त गर्नुपर्दछ । अनुगमनको नाममा दुःख दिने काम हुनु हुँदैन । 

यहाँ औद्योगिक सुरक्षा बलको गठन, निजगढ विमानस्थल निर्माण, द्रुतमार्ग छिट्टै निर्माण र आईसीपी तथा ड्राइपोर्ट प्रभावकारी बनाउने काम हुनुपर्दछ । विद्युत् आपूर्तिमा देखिएको समस्या, मजदूरको समस्या न्यूनीकरण हुनुपर्दछ । नेपाल–भारत सिमानालाई ‘ह्याप्पी बोर्डर’ बनाउनुपर्ने मागको सम्बोधन भएमा बारा पर्सामा विकासले फड्को मार्छ, जसले देशको विकासमा पनि महत्वपूर्ण टेवा पुग्नेमा कुनै आशंका छैन । 

Back to top