×

वीरगञ्ज, ८ चैत । बाराको जितपुरसिमरा उपमहानगरले मिलोमत्तोमा खरिद गरेको ४६ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भेटिएको छ ।

सेनेटरी प्याड गुणस्तरहीन भेटिएपछि ५० वटा सामुदायिक विद्यालयका किशोरी छात्राहरु प्याडको नियमित प्रयोगबाट बञ्चित भएका छन् ।

नगरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ९ हजार छात्राहरुलाई वितरण गर्न ४६ लाख ९९ हजारमा विद्या एण्ड सप्लायर्सले उपमहानगरको शिक्षा महाशाखालाई सेनेटरी प्याड उपलब्ध गराएको हो ।

छात्राहरुलाई निःशूल्क वितरण गर्न उपमहानगरले खरिद गरेको उक्त प्याडको साइज र बनोट नमिलेको तथा कमसल सामग्रीले बनेको भेटिएपछि छात्राले प्रयोग गर्न छाडेका हुन् ।

सिमावर्ती भारतका बजारमा पाइने कमसल सेनेटरी प्याडलाई विद्या एण्ड सप्लायर्सले नेपालगुणस्तर चिन्ह प्राप्त विराटनगरको एक उद्योगको नाम दिँदै पाउचमा प्रिन्ट गरी प्याक गरेर शिक्षा महाशाखाको मिलेमतोमा उपमहानगरलाई उपलब्ध गराएको विद्यालयका व्यवस्थापन समितिहरुले आरोप लगाएका छन् ।

धेरैजसो विद्यालयका समितिहरुले उक्त प्याड फिर्ता लैजान र गुणस्तरीय प्याड उपलब्ध गराइदिन शिक्षा महाशाखालाई दबाब दिएका छन् । तर, थन्किएको उक्त सेनेटरी प्याड मापदण्ड अनुसार गुणस्तरीय भएकाले नै विद्या एण्ड सप्लायर्स मार्फत खरिद गरिएको महाशाखाका प्रमुख शिवजी प्रसादले दाबी गरेका छन् ।

निःशूल्क वितरण गर्न खरिद गरिएका लाखौं प्याक सेनेटरी प्याड थन्किए पछि हजारौं प्रयोगकर्ता विद्यालयका किशोरी छात्राहरु प्याडको प्रयोगबाट बन्चित हुन पुगेका छन् । उपमहानगरले गुणस्तरीय प्याड उपलब्ध नगराए पछि महिनाबारी भएका किशोरी छात्राहरुले विद्यालय आउन कम गरेको बताइएको छ । इमेजखबरबाट साभार ।

Back to top