×

वीरगञ्ज, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दहला (प्रचण्ड) ले विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिने कामलाई तिब्रता दिएका छन् । विश्वासको मत प्राप्त गर्दै प्रधानमन्त्री प्रचण्डले १० चैतमा मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । 

सोही अनुरुप प्रधानमन्त्री दहालले गठबन्धनमा आबद्ध दलहरुसँग छलफललाई पनि निरन्तरता दिइरहेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा चलेसँगै गठबन्धनमा आबद्ध दलहरुबाट मन्त्रीका आकांक्षीहरुको नाम पनि बाहिर आउन थालेको छ । 

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली नेपाली कांग्रेसले आइतबार आफ्नो केन्द्रीय कार्यसम्पादन समितिको बैठक मार्फत योगदान र योग्यताका आधारमा समावेशी र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री चयन गर्ने निर्णय गरिसकेको छ । नेकपा एकीकृत समाजवादी (एस) पार्टीले पनि सरकारमा सहभागी हुने गृहकार्य स्वरूप अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको छ । 

त्यसैगरी जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज बुधबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचन पश्चात खाली भएको बारा–२ बाट लड्न सम्भावित उम्मेदवार र सरकारमा सहाभागिताको विषयमा छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन–२ मा उपनिर्वाचन सम्पन्न भए पश्चात सरकारमा सहभागी हुने कुरा गरिरहेको छ । जनमत पहिलेदाखिनै सरकारमा सहभागी छ । अन्य साना दल भित्र पनि सरकारमा सहभागी हुने विषयमा छलफल चलिरहेको छ ।

गठबन्धनका दलहरुले सरकारमा छलफल चलाइरहेको बेला मधेश प्रदेशको पर्सा जिल्लाबाट निर्वाचित विभिन्न राजनीतिक दलका सांसद्हरु मन्त्री बन्ने चर्चा सुरु हुन् थालेको छ । नेपाली कांग्रेस र जसपाबाट निर्वाचित सांसद्हरुको मन्त्री बन्ने प्रबल सम्भावना रहेको देखिएको छ । पर्साबाट नेपाली कांग्रेसको तर्फबाट रमेश रिजाल र जसपाबाट प्रदीप यादवको नाम चर्चामा छ । 

यसअघि पनि नेपाल सरकारको वन तथा वातावरणमन्त्री बनीसकेका पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् प्रदीप यादवको मन्त्री बन्ने प्रबल सम्भावना देखिन्छ । मन्त्री हुँदा यादवले गरेको कार्यसम्पादन र पार्टीलाई सशक्त बनाउन यादवले गरेको योगदानको मूल्यांकन गर्दै पार्टी अध्यक्ष पनि यादवलाई नै अघि सार्ने पक्षमा बुझिएको छ । मन्त्रीका लागि जसपाभित्र यादवको विकल्प देखिँदैन । अध्यक्ष उपेन्द्र यादव निकट मानिने यादवले मधेश प्रदेशमा पार्टीलाई एउटा राम्रो उँचाईसम्म पुर्‍याउन ठूलो भूमिका खेलेका छन् । पार्टी अध्यक्षसँगै प्रधानमन्त्री पुष्पकमल दहालसँग पनि यादवको राम्रो सम्बन्ध छ । प्रचण्डले पनि यादवलाई मन्त्री बनाउनु पर्ने जसपा अध्यक्ष उपेन्द्र यादवलाई सुझाव दिएको स्रोतको दावी छ । यादव आफ्नो नेतृत्वको सरकारमा सहभागी भए काम गर्न सहज हुने प्रचण्डको विश्वस छ । 

पार्टी भित्रका अधिकतम नेताहरु पनि यादवलाई पुनः मन्त्री बनाउने पक्षमा उभिएको जसपा निकट स्रोतको दावी छ । त्यसैले पनि उनि पार्टी भित्र मन्त्रीको रोजाईमा पर्ने प्रथम व्यक्ति हुन् । 

त्यस्तै पर्सा–४ बाट निर्वाचित रमेश रिजाल कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । चार पटक सांसद् निर्वाचित भइसकेका रिजाल हालसम्म पनि मन्त्री बन्न सकेका छैनन् । त्यसैले पनि यसपटक कांग्रेस सरकारमा सहभागी हुँदा उनि मन्त्री बन्ने सम्भावना उच्च रहेको छ । रिजाल देउवा पत्नी र कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा रानाको पनि निकट छन् ।

Back to top