×

वीरगञ्ज, ४ चैत । सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतंक बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले सुरु गरेको कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप अभियानलाई निरन्तरता दिएको छ ।

छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पुर्‍याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु सुरु गरेको हो । 

अभियानको सुरुवातदेखि छाडा कुकुरलाई दैनिक संकलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले जानकारी दिए ।  

गत मंगलबारदेखि सुरु भएको छाडा कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रमअन्तर्गत हालसम्ममा दुई सयभन्दा बढी कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको मेयर सिंहले बताए । पहिलो चरणमा करिब एक हजार कुकुरको बन्ध्याकरण गरिने सिंहको भनाइ छ ।

शनिबार बिहानै बन्ध्याकरण गर्ने स्थानमा पुगेका सिंहले वीरगञ्जमा छाडा कुकुरको संख्या वृद्धि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको बताए । कुकुरको संख्या दैनिकरुपमा बढ्दै गएकाले यसलाई कम गर्न बन्ध्याकरण गर्न थालेको र यसबाट छाडा कुकुरको कमि आउने उनको विश्वास छ ।

Back to top