×

वीरगञ्ज, ५ फागुन ।  आप्रवासी स्रोत केन्द्र वीरगञ्जबाट २२ महिनामा ६ हजार ५ सय ७ जनाले निःशुल्क रुपमा परामर्श लिएका छन् । 

जिल्ला प्रशासन कार्यालय पर्साको कोठा नम्बर १७ मा रहेको केन्द्रबाट उउक्त समयमा वैदेशिक रोजगारीमा जाने ६ हजार ५ सय ७ जनाले निःशुल्क रुपमा परामर्श लिएको केन्द्रकी काउन्सिलर देउता कुमारी रिजालले बताइन् । 

वैदेशिक रोजगारीमा जानेहरुका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा जाँदा १७ नम्बरको कोठाबाट अनिवार्य रुपमा परामर्श लिनुपर्ने व्यवस्था गर्दा यसको प्रभावकारीता बढ्दै गएको रिजालको भनाई छ । उनले भनिन्, ‘पासपोर्ट बनाउन आउने जो कोही पनि यहाँ आएर मात्रै दर्ता गर्नुपर्छ, जसले गर्दा उनीहरुलाई हामीले श्रम स्विकृति जाँच, कम्पनी, काम र तलबको जाँच कसरी गर्ने लगायतका कुराहरु सिकाउँछौ । जसबाट धेरै जना लाभान्वित हुनुभएको छ ।’ 

वैदेशिक रोजगारीमा जाने सिलसिलामा धेरै जना ठगीने गरेको पाइएपछि त्यस्ता किसिमका ठगीबाट बच्न र बचाउनका लागि सरकारले नै आप्रवासी स्रोत केन्द्र सञ्चालन गरेको पनि उनले जानकारी दिइन् । 

वैदेशिक रोजगारीमा जानेहरुले सकेसम्म बैंक भौचर राखेर मात्रै रकमको लेनदेन गर्नुपर्ने उनको सुझाव छ । ‘हातले कारोवार गर्दा त्यसको कुनै प्रमाण हुँदैन, पछि ठगी भएपछि उजुरी दिन र दावी गर्न समस्या हुन्छ, त्यसैले बैंक तथा आईएमई मार्फत नै पैँसा पठाउँदा पछीका लागि सहज हुन्छ ।’ 

साथै बैंकबाट पठाएको पैँसाको भर्पाई पनि सुरक्षित राख्नुपर्ने बताउँदै उनले राहदानी पनि प्रतिलिपि नै नराखेर मेनपावर कम्पनी तथा एजेन्टलाई दिन नहुने बताइन् । वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने सम्पूर्ण कागजातको प्रतिलिपि घरमा समेत राख्न दिएमा क्षतिपुर्ती दावी गर्न सहज हुने पनि उनको भनाई छ । सकेसम्म सिप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान पनि उनले आग्रह गरेकी छन् । 

रिजालका अनुसार निःशुल्क परामर्शका साथै केन्द्रले गुनासो तथा समस्या पनि सम्बोधन गरीरहेको छ । आर्थिक वर्ष सन् २०२०/२१ म १२ वटा उजुरी परेकोमा ५ वटाको समाधान गरिएको केन्द्रका एमआरसी काउन्सिलर जयप्रकाश गुप्ताले जानकारी दिए । सन् २०२१/२२ मा परेका ८१ वटा उजुरीमध्ये ५३ वटा समाधान गरिएको गुप्ताको भनाई छ । सन् २०२३ को जनवरी ६ सम्म ८२ वटा उजुरी परेका छन्, जसमध्ये हालसम्म ९ वटा उजुरीको समाधान गरिएको छ । 

एजेन्टले ठगी गरेको, विदेश गइसकेपछि काम र तलब फरक हुने, अलपत्र पार्ने, मृत्यु भएपछि क्षतिपुर्ती कसरी लिने लगायतका उजुरी सबैभन्दा धेरै पर्ने गरेको गुप्ताले बताए । 

जिल्ला प्रशासन कार्यालय पर्साको १७ नम्बर कोठामा अवस्थित आप्रवासी स्रोत केन्द्रमा दिनहुँ परामर्श लिने र समस्या तथा गुनासो सुनाउनेहरुको बाक्लो उपस्थिती हुने गरेको छ । 

केन्द्रमा परामर्श लिने मात्रै नभएर समस्याहरु पनि लिएर आउने गरेका छन् । समस्या लिएर आउनेहरुलाई प्रमाणको आधारमा जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा उजुरी दर्ता गर्न लगाएर समस्याको समाधान गर्न केन्द्रले पहल गर्ने गरेको छ । 

कतिपय समस्याहरुलाई वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सञ्जाल (पिएनसीसी) मा पठाउने गरिएको छ । पिएनसीसीमार्फत प्रमाणहरु जुटाउन र समस्याको समाधान गर्न सहज हुने उनको विश्वास छ । 

केन्द्र मार्फत वैदेशिक रोजगारमा जानेहरुका लागि निःशूल्क सिपमुलक तालिम पनि प्रदान गरिन्छ । १९ देखि ३५ वर्ष उमेर समूहका युवाहरुलाई पलम्बींग, इलेक्ट्रिसियन, डकर्मी, स्काफेल्डीग (फलामको खट बनाउने) र फर्मा लगाउने सिप निःशूल्क सिकाउने सरकारले व्यवस्था गरेको गुप्ताले बताए । 

वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरुका बारेमा सबैलाई सुसुचित गराउनुका साथै केन्द्रले वैदेशिक रोजगार सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएको गुप्ताको भनाई छ । 

मोवाइलबाटै आफ्नो कामको प्रकार, पद, काम गर्ने कम्पनी, जान लागेको देश, श्रम स्वीकृति जारी भएको मिती, तलब, लागत खर्च लगायतको विवरण थाहा पाउन सकिने व्यवस्था पनि गरिएको छ । 

रोजगारका लागि जानेहरुलाई पर्यटन भिसामा पठाएर ठगी गरेका उजुरीहरु पनि केन्द्रमा पर्ने गरेको गुप्ताले जानकारी दिए । यसरी श्रम स्वीकृति गरेर वैदेशिक रोजगारमा जाँदा सुरक्षित हुनुका साथै काम गर्ने क्रममा अंगभंग अथवा मृत्युसम्म भएको अवस्थामा क्षतिपुर्तीको समेत व्यवस्था गरिएको गुप्ताले बताए । वैदेशिक रोजगार ऐन २०६४ अनुसार श्रम स्वीकृति भएमा नेपाल सरकारबाट पाउनुपर्ने आर्थीक सहायतासहितका अन्य सहयोगहरु गर्न सहज हुने उनको भनाई छ । 

नेपाल सरकार र स्विजरल्याण्ड सरकारसँगको सम्झौताअनुरुप सेफर माइग्रेसन (सामी) परियोजनाअन्र्तगत हेल्विटासको प्राविधिक सहयोगमा ८ बैशाख २०७८ देखि केन्द्रले सेवा सुचारु गरेको हो ।

 
 

Back to top