×

फाइल तस्विर ।

वीरगञ्ज, २१ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भईसकेको दावी गरेका छन् ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीरसमेत गरे । ललितपुरमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनि प्रश्न समेत गरे ।

संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानून र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे । उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताए । 

अध्यक्ष नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भईसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढछ कि बढदैन भन्नेमा छ । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संसदको रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ । राजतन्त्रको वकालत गरिएको छ । नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उलंघन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन भने त्यसले संकटको सन्देश दिन्छ । त्यसैगरी जसले आफैंले संविधान, कानुन र नियमको पालना गर्दैन । आर्दशको उदाहरण प्रस्तुत गर्दैन । त्यस्ताले के दिन्छन जनतामा सन्देश । यी सबै कुराहरुले गर्दा यो सरकारप्रति, अहिलेका मन्त्रीहरुप्रति मान्छे आशावादी हिजो थिए । अहिले निराश हुन थालेका छन । भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन ।’

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गरे ।

यसैबीच, जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालद्वारा प्रस्तुत राजीनितिक प्रतिवेदनमा वाम–लोकतान्त्रिक गठबन्धनको बहुमत आउला भन्ने आम अपेक्षा भएपनि त्यस्तो नभएको उल्लेख गरिएको छ ।

Back to top