×

वीरगञ्ज, २० माघ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय राजनीतिक समिति सदस्य एवम् पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले काँग्रेस र कम्युनिष्ट दुवै धोखेबाज रहेको बताएका छन् ।

बिहीबार वीरगञ्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यसमेत रहेका यादवले यस्तो बताएका हुन् ।

जसपाका लागि दुवै दल धोखेबाज भएपनि मंसिर ४ को निर्वाचनमा जसपाको अस्तित्व रक्षाका लागि एमालेसँग चुनावी तालमेल गर्नु परेको उनले बताए । एमालेसँग चुनावी तालमेल गरेकै कारण आज जसपाको अस्तित्व जोगिएको पनि उनको भनाइ छ ।

उनले भने, ‘तुलना नै गर्ने हो भने हामी मधेशी माथि सबै भन्दा बढि दमन, शोषण र अत्याचार काँग्रेसले नै गर्दै आइरहेको छ, कम्युनिष्ट पनि कम भने छैनन् ।’

यसअघिको गठबन्धनमा रहदाँ काँग्रेसले चुनावमा जसपाको अस्तित्व नै नामेट पार्ने षडयन्त्र गरेपछि बाध्य भएर एमालेसँग तालमेल गर्नु परेको यादवले बताए । यादवले भने, ‘कम सिट आयो भनेर अहिले सबै दोष अध्यक्ष उपेन्द्र यादवलाई मात्र थोपर्नु जायज होइन किन कि एमालेसँग तालमेल गर्न पार्टी अध्यक्षलाई हामीले पनि भनेका थियौं ।’

अध्यक्ष उपेन्द्र यादव एकपटक चुनाव हार्दैमा उनको नाम राष्ट्रिय राजनीतिबाट नमेटिने जिकिर गर्दै यादवले भने, ‘भारतमा प्रधानमन्त्री इन्दिरा गान्धी जस्ता चर्चित नेतृले पनि चुनाव हारेकि थिइन्, त्यो कुनै ठूलो कुरा होइन । उपेन्द्र यादवकै कारण देशले संघीयता पाएको हो । मधेशले पहिचान पाएको हो ।’

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई अध्यक्ष उपेन्द्र यादव, केन्द्रिय सदस्य मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्धी, केन्द्रिय सदस्य एवम् वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले पनि सम्बोधन गरेका थिए । 

कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।

Back to top