×

वीरगञ्ज, १८ माघ ।  ब्याचलर्स ईन बिजनेस साइन्स (बिबिएस) प्रथम वर्षमा अध्ययनरत २३ वर्षीय एक युवाको सपना छ, ‘खाडी जाने र गाडी चढ्ने ।’ काठमाण्डौको कागेश्वरी नगरपालिका २ निवासी अञ्जन खड्कालाई जसरी पनि खाडी जाने र खाडीबाटै अष्ट्रेलिया पुग्ने रहर पलाएको छ । गौशाला पिङ्लास्थानस्थित होटल रामेश्वरममा वैटरको रुपमा कार्यरत छन् अञ्जन । उनी अर्जनु खड्काकी पहिलो श्रीमती मिना खड्काका कान्छा छोरा हुन् । बुबा दोस्रो बिहे गरेर कान्छी श्रीमतीसँगै बस्छन् भने आमा मिनाकै मेहनतमा अञ्जन हुर्किए । 

आमाले उनलाई हुर्काइनन् मात्रै, बढाइन् र पढाइन् पनि । नियमित रुपमा ज्याला मजदुरी गर्दै हातमुख जोड्ने खर्चसँगै आफुले आधा पेट खाएर भएपनि उनले छोरालाई राम्रो शिक्षा दिइन् । अञ्जनले श्री सिद्धि गणेश स्कुलबाट २ दशमलव १२ जिपिए ल्याएर एसईई उतिर्ण गरे । न्यू मिलेनियम कलेजबाट २ दशमलव ८३ जिपिए ल्याएर प्लस टु सकाएपछि अहिले उनी ब्याचलर्स प्रथम वर्षमा अध्ययनरत छन् । 

शुरुमा ज्यामी काम गर्ने अञ्जनकी आमा अहिले नजिकैको एउटा कलेजमा सहयोगीका रुपमा कार्यरत छिन् । ‘आमाको दुःख देख्न नसकेरै म होटलमा वैटरको रुपमा काम गर्न आएको छु’, अञ्जनले थपे, ‘बिहान कलेजबाट फर्किएपछि दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म १२ घण्टा १२ हजार तलबमा काम गर्छु ।’ 

अञ्जनका दाई पनि छन् । उनी विवाहित हुन् । दाई र बुबा कसैले पनि आफु र आफ्नी आमालाई सहयोग नगर्ने अञ्जनले सुनाए । प्लस टु सकिएपछि उनले अष्ट्रेलिया जाने योजना बनाए । योजनाअनुरुप उनलाई सहयोग गर्ने आश्वासन पनि उनको बुबाबाट पाए । तर सबै प्रक्रिया लगभग टुंगिसकेपनि अन्तिममा बुबा सहयोग गर्नबाट पछि हटेको हुँदा अहिले होटलमा काम गर्न बाध्य भएको उनको भनाई छ । 

‘नेपालमा केही गर्न सक्ने अवस्था नै छैन, गर्छु भन्नेको अवस्था प्रेम प्रसाद आचार्य जस्तै हुन्छ’ उनले भने । नेपालमा केही गर्न पनि नसकिने र गर्दा पनि कर लगायत अन्य झन्झटिलो प्रक्रियाकै कारण प्रेमले आत्मदाह गरेको बुझाई अञ्जनको छ । 

ठूलाबडा र पहुँच हुनेको मात्रै देश नेपाल भएको बताउँदै उनले भने, ‘हामी जस्ता निम्त तथा मध्यम वर्गीय परिवारको लागि खाडी नै ठीक छ ।’ 
 

Back to top