×

भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ।  यस अघिनै च्याम्पियन बनिसकेको भारतले अन्तिम खेलमा ९० रनको जित हात पारेको हो।

इन्दोरमा पाहुना टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। भारतले सानदार ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ८५ रनको योगफल बनाएको थियो।

कप्तान रोहित शर्मा  र  शुभम गिलको शतकको मद्दतमा भारतले अन्तिम खेलमा पनि जित निकालेको हो। पहिलो विकेटका लागि यी दुईले दुई सय १२ रनको  साझेदारी गरे । रोहितले एक सय एक रन बनाए। ​ गिलले ७८ बलमा १ सय १२ रन बनाए। विराट कोहलीले ३६ र हार्दिक पान्ड्याले ५१ रन जोडे। ज्याकोब डफी र ब्लेर थिक्नरले तीन–तीन विकेट लिए।

जवाफमा न्युजिल्यान्ड ४१ ओभर दुई बलमा २ सय ९५ रनमा अलआउट भयो। पहिलो ओभरको दोस्रो बलमै ओपनर फिन एलेन डक आउट भएका थिए। डेभोन कनवेले १ सय ३८ रन बनाउँदै इनिङ सम्हालेका थिए। ​

हेनरी निकोलसले ४२, डरेल मिचेलले २४, मिखाएल ब्रेसवेलले २६ र मिचेल सान्टनरले ३४ रन बनाएपनि जितका लागि पर्याप्त भएन। 

भारतका सुर्दल ठाकुर र कुलदिप यादवले तीन–तीन तथा युजवेन्द्र चाहलले दुई विकेट लिए। यो जितपछि भारत ओडिआई वरीयताको शीर्ष स्थानमा फर्किएको छ। 

Back to top