×

वीरगञ्ज, १० माघ । प्रेस सेण्टर नेपाल पर्सा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले प्रेस सेण्टरका उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगरपालिका सदस्य अनिल शाहीको विमान दुर्घटनमा परी निधन भएको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

माघ १३ गते नेपाल पत्रकार महासंघको सभाकक्षमा प्रेस सेण्टर पर्सा जिल्ला समन्वय समितिले श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको सेण्टरका अध्यक्ष दीपक गौतमले जानकारी दिए । त्यस्तै बैठकले माघ १५ गते संगठनको स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ ।

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए । त्यस्तै यहि माघ १४ देखि १६ गतेसम्म वीरगन्जमा हुने भनिएको संगठनको राष्ट्रिय भेला फागुन १४ देखि १६ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।

माघ १ गते संगठनका उपाध्यक्ष त्रिभुवन पौडेल र सदस्य अनिल शाहीको विमान दुर्घटनामा परेर निधन भएपछि माघ १४, १५ र १६ गते वीरगन्जमा आयोजना हुने पूर्व निर्धारित राष्ट्रिय भेला स्थगित गरिएको थियो । उक्त भेला एक महिनापछि फागुन १४, १५ र १६ गते गर्न केन्द्रलाई प्रस्ताव गर्ने सेण्टरको आजको बैठकले निर्णय गरेको हो ।

अध्यक्ष दीपक गौतमको अध्यक्षतमा बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सचिव एवं राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख राजु विश्वकर्मा, केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश सचिव मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव, सञ्जीप गुप्ता, जिल्ला उपाध्यक्ष कृष्णमोहन साह, कोषाध्यक्ष विदुर गौतम, सदस्य प्रणय साह लगायतको उपस्थिति रहेको थियो । 

Back to top