×

वीरगञ्ज, ९ माघ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता सम्मानित भएका छन् । २२औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता वाहिनी मुख्यालयले डा. गुप्तालाई कदर पत्रद्वारा सम्मान गरेको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका गुप्तालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दीवास, महोत्तरीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेशबहादुर ठाडा मगरले कदर पत्र प्रदान गरेका हुन् । 

सम्मान ग्रहण गर्दै डा. गुप्ताले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु सशस्त प्रहरीको एक टोली औद्योगिक टास्क फोर्सका रुपमा कार्यरत रही कोरिडोरको शान्ति सुरक्षा तथा अमन चैनको वातावरण बनाउन आग्रह गरे ।

यसअघिको टास्क फोर्सले उत्कृष्ट काम गर्दा पनि अहिले सरकारले उक्त टास्क फोर्सलाई हटाइएको हुँदा पुनः बहाल गरी औद्योगिक कोरिडोरको शान्ति सुरक्षालाई पुनः निरन्तरता दिन डा. गुप्ताले डिआईजी ठाडामगरको ध्यानाकर्षण गराए । 

सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, कार्यसमिति सदस्य सुरेश रुँगटा लगायतको सहभागिता रहेको थियो ।
 

Back to top