×

वीरगञ्ज, ८ माघ ।  कृषकले उत्पादन गरेको धान बिचौलीया तथा व्यापारीकहाँ नगई सरकारले नै उचि मूल्यमा खरिद गर्नुपर्ने समाजवादी किसान महासंघ नेपालले माग गरेको छ । 

आइतवार वीरगञ्जमा सम्पन्न जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी किसान महासंघ नेपालको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उक्त माग गरेको हो । सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानहरुले समयमै मूल्य अनुसारको बिक्री गर्न नपाउने जस्ता विभिन्न जटिलताहरुलाई मध्यनजर गर्दै महासंघले सरकारले नै खरिद गर्नुपर्ने माग गरेको हो । 
सरकारमार्फत नै किसानले धान बिक्रि गर्न पाए ठगीने, कम मूल्यमा बेच्नुपर्ने, बजार नपाउने जस्ता समस्याहरुको अन्त्य हुने विश्वास महासंघको छ । 

त्यसैगरी सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यमा पनि किसानहरुले असन्तुष्टी जनाइरहेको हुँदा पुनःविचार गर्नुपर्ने महासंघको माग छ । सरकारले तोकेको उखुको मूल्यले कृषकको लागत खर्च पनि नउठ्ने हुँदा पुनः विचार गरी कृषकको माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता पनि बैठकमा सहभागीहरुले गरेका छन् । 

बैठकमा कृषि ऋण पाउन पनि असहज हुने प्रक्रियाका सम्बन्धमा पनि छलफल भएको महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए । कृषकलाई सहज र सरल ढंगले कृषि ऋण उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय भएको अहमदको भनाई छ । 

बैठकले महासंघलाई विस्तार गर्नुका साथै क्रियाशिल बनाउने बारे पनि निर्णय गरेको छ । समाजवादी किसान महासंघको संरचनालाई क्रियाशिल बनाउँदै फागुन ३० गतेसम्म ७ वटै प्रदेशमा प्रदेश समिति गठन र पुर्नगठन गर्ने निर्णय गरेको महासंघका महासचिव ओमकृष्ण विष्टद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

सोही बैठकले महासंघको केन्द्रीय सदस्यमा ४ जना सदस्य पनि मनोनयन गरेको छ । मधेश प्रदेशबाट महाराज यादव, कर्णाली प्रदेशबाट प्रबजन उपाध्याय र लता चौलागाई र लुम्बिनी प्रदेशबाट प्रबजन शाहीलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 

Back to top