×

वीरगञ्ज, ८ माघ । मधेश प्रदेश सरकारको विस्तारमा ढिलाइ हुने भएको छ । प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र ३ जना मन्त्रीले सपथ लिएको ८ दिन बितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाएको छैन् । मन्त्रीमण्डल विस्तारको विषयमा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री यादवबीच शनिबार काठमाण्डुमा भेटवार्ता भएको छ ।

स्रोतका अनुसार संघीय सरकारको जसपाप्रतिको दृष्टिकोण प्रष्ट भएपछि मात्र मधेश प्रदेश सरकारले पूर्णता पाउने छ ।‘केन्द्र सरकारमा जसपाको सहभागिता र सहमतिलाई कुरिएकोछ ’ स्रोतले भने, मधेश प्रदेश सरकारको विस्तारमा अझै केही दिन समय लाग्न सक्छ । मुख्यमन्त्री र तीन जना मन्त्रीले शपथग्रहण लिएका छन् ।

मन्त्रीहरुको अहिले विभाग बाँडफाँट भइसकेको छैन् । बिनाविभागीय मन्त्रीहरुलाई चाँडै मन्त्रालयको टुँगो लाग्ने स्रोतले जनाएको छ । उच्चस्तरीय स्रोतका अनुसार जसपाबाट मन्त्री बनेका सञ्जय यादवलाई अर्थ, नेकपा एमालेबाट मन्त्री बनेका सरोज यादव(महोत्तरी) लाई भौतिक पूर्वाधार विकास र जनमतबाट मन्त्री बनेका ई.वसन्त कुशवाहालाई कृषि मन्त्रालयको जिम्मेवारी दिइने छ ।

‘मन्त्रीमण्डलको विस्तार सत्तारुढ गठबन्धन दलहरुको सहमतिमा केही दिन पछि हुनेछ’ उच्चस्रोतले भने, सत्तारुढ दलहरुबीच मन्त्रालयको विषयमा सहमति कायम भइसकेको छ । मन्त्रालय नपाए पनि एमालेका मन्त्री यादव र जनमतका मन्त्री कुशवाहाले आवास सुनिश्चित गरिसकेका छन् ।

यादवले पूर्व भौतिक पूर्वाधार मन्त्रीको आवास रोजेका छन् ।तर ई.कुशवाहाले पूर्व सामाजिक विकास मन्त्रीको आवास रोजेका छन् । भौतिक पूर्वाधारमा गत कार्यकालमा ३ जना मन्त्री फेरिएका थिए ।तर सामाजिक विकास मन्त्रालयमा ५ वर्ष नै एकै जना नवलकिशोर साह(रामबाबु) मन्त्री रहेका थिए । भौतिक पूर्वाधारमा प्रारम्भमा सत्तासाझेदार राष्ट्रिय जनता पार्टी(राजपा) दलका नेता जितेन्द्र सोनल मन्त्री भएका थिए ।

जसपामा विवाद भएपछि लोसपा रोजेका सोनललाई मन्त्रीबाट बर्खास्त गरिएको थियो ।त्यसपछि सत्तामा पुगेका नेपाली कांग्रेस दलका नेता रामसरोज यादवले सो मन्त्रालय सम्हालेका थिए । उनी पनि सत्ताच्युत भएपछि सो मन्त्रालय तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले आफैसँग राखेका थिए ।

जसपाबाट मन्त्री बनेका यादवले हाल सम्म आवास सुनिश्चित गरेका छैनन् । तर उनले पूर्व अर्थमन्त्रीको आवासलाई रुचाएका छैनन् । उनको रोजाइमा पूर्व कृषि मन्त्रीको आवास पर्न सक्ने संभावना छ । निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत साहले आवास खाली गरिसकेका छैनन् । उनी फेरि मन्त्री हुने विश्वासका साथ आवास खाली नगरेको बताइएको छ । मुख्यमन्त्री यादवले मधेश प्रदेशका शतप्रतिशत सभासदको समर्थन प्राप्त गरेका छन् ।

मधेश प्रदेश सभामा रहेका सबै दल र स्वतन्त्र सांसदहरुले उनलाई निशर्त विश्वासको मत दिएका छन् । भ्रष्टाचारमुक्त प्रदेश बनाउने प्रतिवद्धताका साथ अगाडि बढेका मुख्यमन्त्री यादवले त्यसका लागि उच्चस्तरीय छानबिन समिति समेत गठन गरेका छन् ।

Back to top