×

वीरगञ्ज, १ माघ ।  पछिल्लो समय मानिसहरु मौलिकतामा रमाउने क्रम बढ्दै गएको छ । मौलिकतासँगै अलिकति नयाँपन र केही फरकपनले आकर्षित गराउनु स्वभाविक पनि हो । तपाई वीरगञ्जमा बस्नुहुन्छ भने खाजा तथा खाना खानेदेखि लिएर जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतका क्रियाकलापमा सरिक हुन होटल तथा रेस्टुराँहरुमा त पक्कै पनि पुग्नुभएकै होला । यदि पुग्नुभएको छैन भनेपनि यहाँका नाम चलेका होटल तथा रेस्टुराँहरुको नाम त पक्कै पनि सुन्नुभएकै छ । 

वीरगञ्जको मुटु भनिने आदर्शनगरस्थित ग्रिनसिटी चोकमै अवस्थित होटल कैलाशको नाम नसुन्ने वीरञ्जबासी सायदै होलान् । त्याहाँ जानेहरुले पक्कै पनि करिब २ वर्ष अघिको होटल कैलाश र अहिलेको होटल कैलाशबिच आकाश पातालको भिन्नता पाउनुहुन्छ । फर्नीचर, फ्लोरिंग, लाईट, सिलिङ्, वाल, कलर लगायतको कम्बिनेशनले बस्दा पनि बसीरहुँ लाग्छ । 

 

ठूला ठूला कार्यक्रम, सभा सम्मेलनदेखि विवाह वर्तबन्धमा समेत अत्यन्तै व्यस्त हुने होटल भिस्वाको स्वरुप पनि अहिले फेरिएको छ । 

May be an image of table and indoorत्यस्तै वीरगञ्जको आदर्शनगरस्थित होटल पूजन, मकालु होटल, अनमोल स्विट्स, आदर्शनगरमै रहेको बाल मन्दिर, फिटलाईन फ्याक्ट्री लगायतका दर्जनौ स्थानहरुमा पनि ग्राहकहरुलाई मोहित बनाउन आकर्षक सजावट गरिएको छ । 

यी स्थानमा आउने ग्राहकहरुले झट्ट अड्कलबाजी गर्छन्, ‘पक्कै पनि यति राम्रो सजावट गर्ने कोही बाहिरकै मान्छे हुनुपर्छ, अनि खर्च पनि धेरै लाग्यो होला ।’ खासमा यस्तो अनुमान लगाउनु स्वभाविक पनि हो । म पनि यस्तै सोचीरहेको थिए । तर म भ्रममा रहेछु भन्ने थाहा त्यतिबेला भयो, जब यि सबै सजावट तथा इन्टेरियर डिजाईन वीरगञ्जकै युवाले गरेका हुन् भन्ने जानकारी प्राप्त भयो । 

उनी हुन् वीरगञ्जको माईस्थान निवासी सुशोभित  रन्जितकार । संयोग भन्नुपर्छ उनको नाम र काम दुवै मिल्छ । नाम सुशोभित  भएजस्तै उनको काम पनि सुशोभित  बनाउने हो । सुमन कुमार रन्जितकार र मुना रन्जितकारका छोरा सुशोभित ले वीरगञ्जकै ज्ञानज्योती स्कुलबाटै प्लस टु उतिर्ण गरे । सानैदेखि डिजाईनिंगतिर रुची भएपनि इन्टेरियर आर्किटेक विषय हुन्छ र यसको अध्यापन हुन्छ भन्ने कुराको जानकारी उनीसँग थिएन । 

प्लस टु सकिएपछि काठमाण्डौ पुगेका सुशोभित लाई उनकै दिदीले ईन्टेरियर आर्किटेक पढ्न सुझाव दिइन् । रुचीकै क्षेत्रको पढाई हुने थाहा पाएपछि सुशोभितसँग खुशीको सीमा थिएन । आई ई सी कलेज अफ आर्ट एण्ड फेशनमा भर्ना भएका उनले २०७० सालमा इन्टेरियर आर्किटेकबाट स्नातक सके । 

अध्ययन सकिए लगत्तै उनले काम गर्न थालनी गरे । रेड पेपर डिजाइनर्स’ नामक आफ्नै कम्पनी शुरुवात गरेर उनले इन्टेरियर आर्किटेक ईन्जिनियरसँगै युवा उद्यमीको पनि परिचय बनाए । काठमाण्डौको कलङ्की १४ लामपाटीमा प्रधान कार्यालय रहेको यसको शाखा केही दिनमै वीरगञ्ज र हेटौडामा बिस्तार गर्ने सुशोभितको योजना छ । भारतमा प्रख्यात क्याफे कफी डे को शाखा काठमाण्डौमा स्थापना भएपछि त्यसकै इन्टेरियर डिजाईन गर्ने कामबाट उनले आफ्नो इन्टेरियर आर्किटेकको यात्रा आरम्भ गरे । त्यसपछि उनले अहिलेसम्म पछाडी फर्किनुपरेको छैन । 

महिन्द्राको अग्नि ग्रुप, काठमाडौंको दरबार मार्गस्थित किंगस लंज, प्यासिफिक इन्टरप्राइजेजको कार्यालय, ओम सिमेन्टको कार्यालय लगायत देशैभर १ सय भन्दा धेरै परियोजनामा काम गरीसकेको अनुभव उनले छोटो समयमै बटुल्न सफल भएका छन् । 

शुरुवाती चरणमा संघीय राजधानी काठमाण्डौमै बढी व्यस्त हुने उनी पछिल्लो केही समय यता आफ्नै जन्मथलो वीरगञ्जमा बढी समय बिताइरहेका छन् । आफ्नै ठाउँमा काम गर्ने सोचका साथ उनले यहाँकै होटल, रेस्टुराँ, कार्यालयदेखि आवासीय घरहरुमा पनि इन्टेरियर डिजाइनिंगका कामहरु गरीरहेका छन् । 

वीरगञ्जका इन्टेरियर आर्किटेक्ट ईन्जिनियरको माग संघिय राजधानी काठमाण्डौदेखि बागमती प्रदेशको राजधानी हेटौडा, बुटवल, चितवन, धरान, बिराटनगर लगायत मेची देखि महाकालीसम्मका शहरहरुमा हुनु पक्कै पनि वीरगञ्जका लागि सुखद पक्ष हो । 

र्सिजनात्मक वास्तुकलातर्फ उनलाई विभिन्न संघ संस्थाले सम्मानीतका साथै पुरस्कृत समेत गरेका छन् । इन्टेरियर आर्किटेक्टको माग अत्यधिक हुनुका साथै यसको स्कोप पनि राम्रो भएको हुँदा उनले वीरगञ्जमै यसको पठनपाठन गराउने प्रयास गरीरहेका छन् ।

No photo description available.


 

Back to top