वीरगञ्ज, ४ पुष । आर्थिक नगरी वीरगञ्जमा साहित्यिक गतिविधि बढाउनेतर्फ साहित्यिक अनुरागीहरु सक्रिय भएका छन् । विगतमा थुप्रै साहित्यकारहरु जन्माएको वीरगञ्जमा पछिल्लो समय साहित्यतर्फको रुची घट्दै गएको आभाष गर्दै साहित्यमा रुची राख्नेहरुको जमघटले साहित्यिक गतिविधि बढाउनेमा जोड दिएका छन् ।
वि.स. २०४४ सालमै स्थापित भएर थुप्रै काम गरेपनि पछि निदाएको नारायणी वाङ्मय प्रतिष्ठानलाई पुनः जागृत गरीसकेपछि वीरगञ्जमा साहित्यिक गतिविधि बढ्ने विश्वास साहित्यकार एवम् बरिष्ठ पत्रकार जगदिश शर्माको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भर कुमार शर्माको अध्यक्षतामा सोमवार बसेको बैठकले यही पौष ३० गते शनिवारका दिन वीरगञ्जको माइस्थानमा साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव महेशचन्द्र गौतमले जानकारी दिए ।
सचिव गौतमका अनुसार बैठकले मधेश प्रदेशका ८ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी कार्यसमितिलाई बिस्तार गर्ने निर्णय गर्नुका साथै त्यसको जिम्मेवारी अध्यक्ष डा. शर्मालाई सुम्पिएको छ । हरेक महिनाको अन्तिम शनिवार बिहान ८ बजे प्रतिष्ठानको मासिक बैठक बस्ने निर्णय पनि बैठकले गरेको सचिव गौतमले बताए ।
साहित्यतर्फ रुची राख्नेहरुलाई मध्यनजर गर्दै साहित्यिक पत्रिका प्रकाशनको तयारी थाल्ने बारे पनि बैठकमा छलफल भएको अध्यक्ष डा. शर्माले बताए । आगामी बैठकमा विशेष छलफल गरेर साहित्यिक पत्रिका प्रकाशनको योजना बनाएर निर्णय गरिने शर्माको भनाई छ ।
त्रिमुर्तीस्थित प्रतिक प्रकाशन गृहमा बसेको प्रतिष्ठानको चौथो बैठकमा सदस्यहरु सुरेश बिडारी, अजमत अली र सूर्यनारायण वि.क.को उपस्थिती रहेको थियो ।