×

वीरगञ्ज, २ पुष । पर्साको धोबिनी गाउँपालिकाका विद्यार्थी एकदिन विद्यालय गएपछि अर्काे दिन विदामा बस्छन् । धोबिनी गाउँपालिका वडा नम्बर १ भिखमपुर पिपरास्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयका विद्यार्थीहरु आलोपालो गर्दै विद्यालय जान्छन् । 

कक्षा १ देखि ९ सम्मका विद्यार्थीमध्ये एकदिन जोर रोल नम्बर भएका विद्यार्थी विद्यालय जाँदा अर्काे दिन बिजोर रोल नम्बर भएका विद्यार्थीहरु जान्छन् । ९ कक्षाका छात्र आकाश यादवले एकदिन जाने र अर्काे दिन नजाने गर्दा पाठ्यक्रम नसकिनेमा चिन्तीत छन् । अन्तिम परीक्षा आउन ३ महिना मात्रै बाँकी रहेको अवस्थामा शिक्षक र कक्षाकोठा अभाव हुँदा समस्या भएको यादव बताउँछन् । 

१६ सय भन्दा धेरै विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा धोबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका विद्यार्थीहरु अध्ययनका लागि आउँछन् । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा १२ वटा कोठा छन् । १२ कोठामा १६ सय विद्यार्थी अटाउन मुस्किल भएकाले आलोपालो गरेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बिनय कुमार पटेलले बताए । 

विद्यार्थी संख्या धेरै भएपछि कोठाको अभावलाई मध्यनजर गर्दै ४ कोठे भवन निर्माणको काम अन्तिम चरणमा रहेको धोबिनी गाउँपालिकाका शिक्षा शाखा संयोजक बृजकिशोर त्रिपाठीले बताए । उनका अनुसार फेरी ४ कोठे भवनका लागि संघिय सरकारले ४५ लाख बिनियोजन गरीसकेको छ । यि दुवै भवन निर्माण सम्पन्न भएपछि कक्षा कोठा अभावको समस्या समाधान हुने त्रिपाठीले बताए । 

कक्षा ११ र १२ को बिहानी सत्रमा कक्षा हुन्छ भने १ देखि ९ कक्षासम्म आलोपालो गरेर पढाई हुने वडा नम्बर १ का वडाअध्यक्ष बन्धु सा तेलीले पनि स्विकार गरे । नियमविपरित नै भएपनि केही समयका लागि जोरबिजोर प्रणालीबाट कक्षा सञ्चालन भइरहेको बताउँदै वडाअध्यक्ष तेलीले १ महिनाभित्र समस्या समाधान हुने दावी गरे । दशै, तिहार, छठसँगै निर्वाचन लगायतका कारण भवन निर्माणको कामले निरन्तरता नपाउँदा समस्या भएको उनको स्पष्टोक्ति छ । 

सरकारले दरबन्दी नदिँदा विषयगत शिक्षकको अभावमा पनि आलोपालो गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । धोबिनी गाउँपालिकामा पर्ने विद्यालयमा जगरनाथपुरका विद्यार्थी पनि अध्ययनका लागि आउने भएको हुँदा त्यस गाउँपालिकासँग पनि शिक्षक व्यवस्थापन र कक्षा कोठा थप्नका लागि सहयोग माग्दा एउटा गाउँपालिकाले अर्काे पालिकालाई दिन नमिल्दा एक्लै गर्न नसकिएको गाउँपालिका अध्यक्ष मदन चौहानको भनाई छ । 

आन्तरीक स्रोतबाट शिक्षक नियुक्तका लागि विज्ञापन गर्ने प्रक्रिया पनि अघि बढेको चौहानले बताए । उनका अनुसार मंसिर ११ गतेको बैठकले विज्ञापन गर्ने निर्णय गरिएको हुँदा एकसाताभित्रै विज्ञापन गर्ने तयारी छ । विज्ञापन गर्दा पनि सबै शहर केन्द्रित हुने भएकाले गाउँमा राम्रो शिक्ष नपाइने समस्या भएको पनि उनले बताए ।

Back to top